कोशीका बिरामी कुरुवाहरु भन्छन् “यो अस्पतालमा उपचार होइन, व्यापार हुँदो रहेछ
- २७ चैत्र २०८२, शुक्रबार
‘मन्त्री ज्यू, यहाँ उपचार होइन, व्यापार हुँदो रहेछ । डाक्टरले तोकेकै ठाउँबाट सामान नल्याए अप्रेसन नै गर्दैनौँ भन्छन् । हामी गरिबले कहाँबाट ल्याउनु त्यत्रो पैसा ?’
बुधबार कोशी अस्पतालको आकस्मिक कक्षको ढोकामा उभिएर बेलबारी–७ बाहुनीका बिन्देश चौधरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. निशा महतोको अगाडि यसरी भक्कानिँदै आफ्नो पीडा पोखे । उनका ४७ वर्षीय दाजु ध्रुव नारायण चौधरी खुट्टा भाँचिएर अस्पताल भर्ना भएको १८ दिन भइसक्यो । सरकारी अस्पतालमा सुलभ उपचार पाउने आशामा आएका बिन्देश यतिबेला अस्पतालभित्रको ‘सिन्डिकेट’ र चिकित्सकहरूको ‘सेटिङ’ का कारण उनी निरास छन् ।
बिन्देशका अनुसार चिकित्सकले उनलाई एउटा कागजमा मोबाइल नम्बर टिपाइदिएर बाहिरबाट सामान (इम्पलान्ट) ल्याउन भनेका थिए । उक्त नम्बरमा फोन गर्दा सुरुमा ४२ हजार रुपैयाँ मागियो । धेरै रोइकराइ गरेपछि ३२ हजारमा सामान त पाइयो, तर बिल दिइएन । ‘बिल माग्दा मान्छे नै हराउँछ,’ उनले मन्त्रीसामु अस्पतालभित्रको जालो उधिने ।
यो पीडा बिन्देशको मात्र होइन । विराटनगर–१८ का दीपक कुमार मण्डलले पनि उस्तै गुनासो सुनाए । उनकी दिदीको हात भाँचिएर उपचारका लागि ल्याउँदा सुरुमा २० हजार र पछि फेरि ४५ हजार रुपैयाँ असुलिएको उनले बताए । अस्पतालको हाडजोर्नी विभागमा चिकित्सकहरूको मिलेमतोमा ‘मधुरा कम्पनी’ का इम्पलान्टहरू बिचौलियामार्फत महँगोमा बिक्री गर्ने गरिएको र बिरामीलाई ‘दुहुनो गाई’ बनाइएको तथ्य मन्त्रीकै अगाडि उनले गुनासो पोखिन ।
मन्त्री महतो आकस्मिक कक्षको ‘यल्लो एरिया’ मा पुग्दा त्यहाँ अर्को हृदयविदारक दृश्य देखियो । ३५ शैयाको उक्त कक्षमा बेड अभावका कारण एउटै बेडमा दुई जना बिरामीलाई राखेर उपचार भइरहेको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले बिरामीको अत्यधिक चापका कारण बेड पु¥याउन नसकिएको जबाफ मन्त्रीलाई सुनाए ।
अनुगमनकै क्रममा अस्पतालमा कार्यरत दर्ता सहयोगीहरूले पनि आफ्नो श्रमको मूल्य नपाएको गुनासो गरे । दर्ता सहयोगी संघकी संयोजक गंगा सुवेदीले देशभरका ७ हजार बढी कर्मचारीले उचित पद र सेवा सुविधाबिना केवल कमिसनको भरमा काम गर्नुपरेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराइन् ।
बिरामीका आफन्तका आँसु, चिकित्सकको सेटिङ र भौतिक अभावका दृश्य देखिसकेपछि मन्त्री महतोले पुरानै शैलीमा जवाफ दिइन् । उनले भनिन्, ‘मैले हेरिरहेको छु, बुझ्ने काम भएको छ । हेरेपछि समाधानतर्फ लाग्नेछौँ, तर सबै कुरा ठिक हुन समय लाग्छ ।’



































































