केराबारी गाउँपालिकाद्वारा उत्कृष्ट दुइ सहकारीहरू सम्मानित
- २१ चैत्र २०८२, शनिबार
केराबारी गाउँपालिकाले पालिका क्षेत्रका दुईवटा सहकारीहरूलाई सम्मानित गरेको छ।
६९औ सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाले ती सहकारीहरुलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको हो। सम्मानित हुनेहरूमा केराबारी ८ स्थित केराबारी नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र केराबारी ९ मा अवस्थित बालुवा एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन्।

ती सहकारीहरूलाई सम्मानपत्र र जनही १२ हजार ५ सय नगद सहित सम्मान गरिएको हो। केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगर, उपाध्यक्ष मनमाया मगर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ लगायतले ती सहकारीहरुलाई सम्मान गरेका थिए ।
केराबारी क्षेत्रमा सक्रिय करिब दुई दर्जन सहकारीका सञ्चालक समितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरू समेत गरी १ सय जना भन्दा बढी मानिसहररुको उपस्थितिमा केराबारी गाउँपालिकामा सहकारी मार्फत आर्थिक समृद्धि र विकास विषयक अन्तरक्रिया कार्यक्रम भएको थियो । गाउँपालिकामा मासिक विवरण पेश गरेको तथा संस्थाको व्यवस्थापन र आर्थिक पक्ष राम्रो रहेकोले ती सहकारीहरुलाई सम्मानित गरिएको केराबारी गाउँपालिकाका कृषि तथा सहकारी शाखाका प्रमुख टेकप्रसाद बास्तोलाले जानकारी दिए । यस वर्ष सहकारी दिवसको अवसरमा सहकारी संस्थालाई पुरस्कृत गर्न थालिएको र हरेक वर्ष यसलाई निरन्तरता दिइने केराबारी गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले केराबारी गाउँपालिकामा सहकारी मार्फत आर्थिक समृद्धि र विकास विषयक कार्यपत्र पेश गरेका थिए । कार्यपत्र लगायत सहकारीसँग सम्बन्धित विभिन्न विषयमा सहभागीहरूले जिज्ञासा तथा आफ्ना विचारहरू राखेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष मनमाया मगरले सहकारीहरूको विकासका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र भविष्यमा पनि त्यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताइन्।
केराबारी गाउँपालिका अध्यक्ष सुमन निरङचिङ मगरले सहकारी संस्थाहरूसँग समन्वय र सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्न र सहकारीहरुलाई आवश्यक पर्ने तालिमहरू सञ्चालन गर्न गाउँपालिकाले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
केराबारीमा केही वर्ष यता सहकारी एकीकरण गर्ने क्रम बढ्दै गएको छ। केही वर्षअघि केराबारी गाउँपालिकाको वडा नम्बर २ मा दुईवटा सहकारीहरू एकीकरण भएका थिए। त्यसैगरी केराबारी ९ को भलुवामा पनि तीनवटा सहकारीहरू एकीकरण भई एउटै सहकारी बनेको छ। केराबारी बजार क्षेत्रमा अघिल्लो वर्ष मात्रै चारवटा सहकारी संस्थाहरु एकीकरण भई केराबारी बचत तथा ऋण सहकारी लिमिटेड सञ्चालनमा छ।
केराबारी गाउँपालिका क्षेत्रमा पहिले करिब तीन दर्जन हाराहारीमा रहेकोमा एकीकरण पश्चात हाल दुइ दर्जन सहकारी संस्थाहरू रहेपनि हाल करिब आधा दर्जन सहकारीहरू निष्क्रिय रहेको केराबारी गाउँपालिकाको कृषि तथा सहकारी शाखाले जनाएको छ।



































































