प्रतिनिधिसभा निर्वाचन २०८२ : मोरङका कुन उम्मेदवारले कति गरे चुनावी खर्च ?

  • ११ चैत्र २०८२, बुधबार

मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका ६४ जना उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन् ।

आयोगमा पेश गरिएको आधिकारिक प्रतिवेदन अनुसार मोरङ निर्वाचन क्षेत्र नं. ३ नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल कुमार शर्माले सबैभन्दा बढी खर्च गरेका  छन् । उनले चुनावी अभियानमा कुल २९ लाख ९५ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन् ।
डा. शर्माले  छापाखाना (नमुना मतपत्र, ब्याज आदि) मा ८ लाख ७५ हजार रुपैयाँ, मतदाता प्रशिक्षण तथा घरदैलो कार्यक्रममा ५ लाख ५० हजार, झण्डा र फ्लेक्समा ३ लाख ७५ हजार, र प्रचार सामग्री ढुवानी तथा इन्धनमा ३ लाख ३० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्  । त्यस्तै सामाजिक  सञ्जाल र सूचना प्रविधिमा ३ लाख, प्रतिनिधि परिचालन तथा खानामा २ लाख ५५ हजार, र सम्पर्क कार्यालय सञ्चालनमा १ लाख ५० हजार रुपैयाँ खर्च भएको डा. शर्माको प्रतिवेदनमा देखिन्छ ।
खर्चको विवरण अनुसार डा. शर्मा पछि मोरङ क्षेत्र नं. १ का उम्मेदवार खड्ग बहादुर फागो रहेका छन् । उनले २६ लाख २ हजार ६ सय रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । त्यस्तै, क्षेत्र नं. ४ बाट प्रतिस्पर्धा गरेका काग्रेसका महामन्त्री गुरुराज घिमिरेले २४ लाख ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । यी तिनै जना नेपाली कांग्रेसका उम्मेदवार हुन् ।
आयोगमा बुझाइएको अन्य उम्मेदवारहरूको खर्च विवरण हेर्दा क्षेत्र नं. ६ का कांग्रेस उम्मेदवार शेखर कोइरालाले २२ लाख ३१ हजार ८८ रुपैयाँ, क्षेत्र नं. ५ का कांग्रेसकै फुल कुमार लालवानीले २१ लाख २६ हजार ६ सय र सोही क्षेत्रका एमाले उम्मेदवार मनोज कुमार अग्रवालले २१ लाख ११ हजार २ सय ६० रुपैयाँ खर्च गरेका छन् । यसैगरी, मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार विनोद प्रसाद ढकालले १७ लाख ७३ हजार ८ सय र मोरङ १ का घनश्याम खतिवडाले १७ लाख ८ हजार खर्च गरेका छन् । ढकाल र खतिवडा एमालेका उम्मेदवार हुन् भने राष्ट्रिय उर्जाशिल पाटीका अध्यक्ष योगेन्द्र मण्डलले १६ लाख ६० हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।
मोरङ ३ का गणेश कार्कीले ८ लाख ५ हजार ३ सय रुपैयाँ, मोरङ ६ की रुविना आचार्यले १२ लाख ४० हजार ७ सय ६ रुपैयाँ र क्षेत्र नं. २ का कृष्ण कार्कीले ७ लाख १० हजार खर्च गरेका छन् । यस्तै, मोरङ १ का यज्ञमणी न्यौपानेले १२ लाख ३ सय ४० रुपैयाँ खर्च गरेको विवरण आयोगमा बुझाएका छन् । चारै जना निर्वाचित हुन् ।
नेकपाका मोरङ ५ का उम्मेदवार शिवकुमार मण्डलको खर्च सबैभन्दा कम अर्थात् ४ लाख २२ हजार ९ सय रुपैयाँ मात्र देखिएको छ भने सोही पार्टीका मोरङ ४ का उम्मेदवार अमनलाल मोदीले १५ लाख ६१ हजार ७४६ रुपैयाँ खर्च गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवारहरूले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनुपर्ने प्रावधान छ । सोही बमोजिम मोरङका ६४ जना उम्मेदवारहरूले आयोगमा आफ्नो खर्चको फेहरिस्त सार्वजनिक गरेका हुन् ।