उत्तरी मोरङमा देखिन थाल्यो बर्ड फ्लू, जोखिम बढेपछि पंक्षीजन्य वस्तुको आयातमा रोक
- ११ चैत्र २०८२, बुधबार
छिमेकी पालिकाहरू सुन्दरहरैंचा र उर्लाबारी नगरपालिकामा बर्ड फ्लू (पंक्षीमा लाग्ने रोग) को संक्रमण पुष्टि भएको छ ।
छिमेकी पालिकाहरुमा बर्ड फ्लु देखिपछि कतिपय पालिकाले उच्च सतर्कता बढाएका छन् । जस अनुसार लेटाङ नगरपालिकाले उच्च सतर्कता अपनाएको छ। नगरस्तरीय विपद् व्यवस्थापन समितिको मंगलबारको निर्णयअनुसार, छिमेकी क्षेत्रमा देखिएको यो संक्रमण लेटाङमा पनि फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले कुखुरा तथा पंक्षीजन्य वस्तुहरूको आयातमा रोक लगाउने निर्णय गरेको हो।
यस निर्णयसँगै अबको ७ दिनसम्म बाहिरबाट जिउँदो कुखुरा, चल्ला, अण्डा, पंक्षी र पंक्षीजन्य मासु ल्याउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। नगरपालिकाले यो संक्रमण नियन्त्रणका लागि आयात बन्द गरी सहयोग गरिदिन स्थानीय व्यवसायी, उपभोक्ता र सरोकारवाला सबै पक्षलाई विशेष अनुरोध गरेको छ। संक्रमणको जोखिम रहेकाले यस अवधिमा उच्च सावधानी अपनाउन समेत नगरपालिकाले सूचित गरेको छ।
नगरपालिकाका दशौ तहका अधिकृत कृष्णराज राईद्वारा जारी सूचनामा बर्ड फ्लूबाट बच्न आवश्यक सुरक्षाका उपायहरू अपनाउन सबै नगरवासीलाई आग्रह गरिएको छ। आफ्नो फार्म वा घरमा पालिएका पंक्षीहरूमा कुनै समस्या देखिएमा वा थप जानकारी आवश्यक परेमा नगर पशु अस्पतालको सम्पर्क नम्बर ९८५२०३१०६४ मा तुरुन्त सम्पर्क राख्न समेत नगरपालिकाले जानकारी गराएको छ।







































































