एकताको सन्देशसहित सुरु भयो एनआरएनएको १२औँ विश्व सम्मेलन

  • ३० फाल्गुन २०८२, शनिबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन शनिबारबाट काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ।

अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री बालानन्द शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दीप प्रज्वलित गरेर गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपालीको अनुभव, सीप र अन्तर्राष्ट्रिय सम्पर्क नेपालको विकास, औद्योगिक विस्तार र रोजगारी सिर्जनाका लागि महत्त्वपूर्ण हुने बताए। उनले मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण त्यहाँ कार्यरत नेपालीको सुरक्षामा सरकार गम्भीर रहेको उल्लेख गर्दै आवश्यक समन्वय र इमरजेन्सी कन्ट्रोल रुममार्फत सहयोग भइरहेको जानकारी दिए।

कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले प्रवासी नेपालीको मनमा मातृभूमिका लागि केही गर्ने भावना बलियो रहेको उल्लेख गर्दै संस्थाभित्रको विवाद अन्त्य गरी एकता स्थापित भएको बताए। संस्थापक अध्यक्ष उपेन्द्र महतोले ‘नेपालका लागि नेपाली’ अभियानमार्फत प्रवासी नेपालीलाई देशको समृद्धिमा योगदान गर्न आह्वान गरे।

कार्यकारी अध्यक्ष डा. बद्री केसीले एकताको यात्रालाई अझ सुदृढ बनाइने बताए। कार्यक्रममा पूर्वअध्यक्ष विनोद कुँवर, रबिना थापा,जीवा लामिछाने र भवन भट्टलगायतले एनआरएनएको एकता, प्रवासी लगानी र नागरिकतासम्बन्धी विषयमा जोड दिँदै देशको समृद्धिमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

यही फागुन ३० देखि चैत २ गतेसम्म हुने निर्वाचन समितिले मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरुको अन्तिम नामावली शुक्रबार प्रकाशित गरेको छ । अध्यक्ष पदका लागि डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) बीच प्रतिष्पर्धा हुने भएको छ । – सरोज बास्तोला/काठमाडौ