हिरासतमा रहेका थुनुवाहरुलाइ किताब पढ्न लगाउँदै इप्रका लेटाङ, पुस्तक सहयोगको लागि अपिल

  • ९ चैत्र २०८२, सोमबार

आचरण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित इलाका प्रहरी कार्यालय लेटाङले हिरासत कक्षभित्र “थुनुवाहरूलाई हातहातमा किताब” अभियान सञ्चालन गर्दै कस्टडी लाइब्रेरी स्थापना गरेको छ। हिरासतमा रहेका व्यक्तिहरूलाई समयको सदुपयोग गराउँदै आत्मपरिवर्तन र सकारात्मक सोच विकास गराउने लक्ष्यसहित पुस्तकालय सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

पुस्तकालयका लागि लेटाङ नगरपालिका ३ स्थित न्यु श्याम पुस्तक भण्डारका सञ्चालक श्याम कुमार श्रेष्ठबाट विभिन्न विधाका २२ थान उपयोगी पुस्तकहरू सहयोगस्वरूप प्राप्त भएको छ। साहित्य, प्रेरणादायी तथा ज्ञानमूलक पुस्तकहरूले थुनुवाहरूलाई नयाँ सोचतर्फ उन्मुख गराउने विश्वास लिइएको छ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहले हिरासत पुस्तकालयलाई प्रभावकारी बनाउन थप पुस्तक आवश्यक रहेको बताउँदै सबै संघसंस्था, व्यवसायी तथा नागरिकहरूलाई सहयोगका लागि अपिल गरेका छन्। “किताबले मानिसको सोच र व्यवहार बदल्न सक्छ, त्यसैले यो सुधारमुखी अभियानमा सबैको साथ आवश्यक छ,” उनले भने।

प्रहरीले “तपाईंको सहयोग नै सुधारको आधार” भन्ने सन्देशसहित पुस्तक सहयोग गर्न आग्रह गरेको छ।