बेलबारीमा हात्तीको आतंक बढ्दै, एक बर्षमा तिनजनाको मृत्यु, सात जना घाइते

  • १० चैत्र २०८२, मंगलवार

बेलबारी नगरपालिका-१० मा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।

सृजना सामुदायिक वन उपभोक्ता समूह मातहतको सृजना पार्क परिसरमा मंगलबार  बिहान करिब ८ बजेतिर हात्तीको आक्रमणबाट स्थानीय दीपक लिम्बु  घाइते भएका हुन् ।

बिहानको समयमा हिँडडुल (मर्निङ वाक) गरेर फर्कने क्रममा करिब ४५ वर्षीय लिम्बुमाथि अचानक हात्तीले आक्रमण गरेको थियो  ।सृजना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देउमान सुब्बाका अनुसार  हात्तीको आक्रमणबाट लिम्बुको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ । हात्तीले लिम्बूलाई खुट्टामा कुल्चेर घाइते बनाएको हो ।

घाइते लिम्बुलाई तत्काल स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था मध्यम रहेको र थप उपचार भइरहेको सामुदायिक वनका अध्यक्ष  सुब्बाले बताए ।

पछिल्लो समय बेलबारी क्षेत्र आसपासका वन क्षेत्रमा जङ्गली हात्तीको गतिविधि बढ्दै गएको छ ।

फागुन २१ गते हात्तीको आक्रमणमा परेर सृजना सामुदायिक वनका उपभोक्ता बेलबारी नगरपालिका वडा नं. ११, धार्मिक चौक निवासी करिब ४५ वर्षीय विष्णु तामाङको मृत्यु भएको थियो  ।

जंगलबाट घाँस लिएर घर फर्कने क्रममा बेलबारी चिसाङ साझेदारी वन क्षेत्रमा जङ्गली हात्तीले आक्रमण गरेको थियो । सोही क्रममा गम्भीर घाइते भएका उनलाई  तामाङसँगै जंगल गएकी छिमेकी एक महिलाले भागेर ज्यान जोगाउँदै गाउँमा खबर पुर्याएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

बिगत एक बर्षयता सृजना सामुदायिक वन र आसपास क्षेत्रमा हात्तीको आक्रमणबाट तीनजनाको मृत्यु भैइसकेको छ । सो अबधिमा हात्तीको आक्रमणमा परी ७ जनाभन्दा बढी घाइते भइसकेका छन् ।

हात्ती आतंकबाट स्थानीयवासी त्रसित बनेका छन् । विशेष गरी बिहान र बेलुका वन आसपासका क्षेत्रमा हिँडडुल गर्दा सावधानी अपनाउन स्थानीय निकाय र वन उपभोक्ता समूहले आग्रह गरेका छन् । सृजना सामुदायिक वनले तत्कालका लागि घाँस, दाउरा वा निगुरो लिनका लागि जंगल नजान आग्रह गरेको छ ।