झापा-५ का मतदाता भन्छन् ‘ज्वाइँ साबलाई खाली हात कसरी पठाउनु?’
- १९ माघ २०८२, आईतवार
झापा–५ को चुनावी मैदानमा बालेनलाई मत माग्न उनकी पत्नी सविना काफ्ले देखा परेपछि यहाँको चुनावी सरगर्मीले झन् रोचक मोड लिएको छ।

यतिखेर झापा–५ मा बालेनलाई ‘काठमाडौँको मेयर’ होइन, ‘उर्लाबारीको ज्वाइँ’का रूपमा चिन्न थालिएको छ। सविनाका लागि झापा र मोरङको यो सीमावर्ती स्थान निर्वाचन क्षेत्र होइन, यो उनको बाल्यकालको स्मृति–संग्रह पनि हो। श्रामानका लागि मत माग्न माइतीगाउँ झरेकी सबिनाले तोरीबारीमा हिँडिरहेको भिडिओ फेसबुकमा राख्दै उनी लेख्छिन् : ‘म जन्मिएको गाउँवरिपरि घुम्दा लाग्छ, म आफ्नो जीवनको पहिलो पृष्ठमा फर्किरहेकी छु। यी खेतहरूले मेरा पाइला चिन्छन्, यी रूखहरूले मलाई बढ्दै गरेको देखेका छन्। म लड्दा, उठ्दा, हाँस्दा, रुँदा यही माटोले मेरो पहिलो आवाज सुनेको छ। मेरो स्वर बोकेको पहिलो हावा यही हो। म बिस्तारै म बन्दै जाँदाका साक्षी छन्, यहाँका रूख, आकाश र माटो। समयले मलाई टाढा पुर्यायो, नाम र पहिचान अर्कै थपिदियो, तर यहाँ फर्कंदा म ती सबै बोझ उतारेर फेरि म बन्छु। यो गाउँमा मेरो कुनै परिचय छैन, कुनै उपाधि छैन, म यहाँ केवल कहिल्यै हराउन नसक्ने त्यही सानी केटी हुँ, जसको नाम आज पनि, यी खेत, यी रूख र यी बाटाहरूले सुस्तरी पुकार्छन्, बिस्तारै बोलाउँछन्।’
झापा–५ का मतदातासँग भेट्दै गर्दा सविना बालेनझैँ धेरै बोल्दिनन्, न त भाषण नै गर्छिन्। उनी त केवल मुस्कुराउँछिन्, मतदाताका हात आफ्ना हत्केलामा थाम्छिन् र अंकमाल गर्छिन्। कहिलेकाहीँ शब्दभन्दा स्पर्श बढी शक्तिशाली हुन्छ। जब उनी दमकका टोलहरू पाणिनी स्कुलदेखि नौभाइ चोकसम्म पुग्छिन्, वृद्धाहरूले उनलाई आशीष दिइरहेको देखिन्छ। कतिपयले फूल उपहार दिइरहेका छन्, तस्बिर खिचाउनेको उस्तै घुँइचो छ।
झापा–५ को यो दृश्य देख्दा लाग्छ, यो कुनै राजनीतिक र्याली होइन, बरु एउटी चेली लामो समयपछि माइती फर्केर आफन्तहरूलाई ढोगिरहेकी छन्।
सविना सँगसँगै हिँडिरहेका रास्वपाका नेता–कार्यकर्ताहरू भनिरहेका छन्, ‘उहाँ हाम्रो प्रधानमन्त्रीको उम्मेदवार बालेनजीको धर्मपत्नी, तपाईंहरूकै चेली।’ मतदाताहरू मुसुक्क हाँस्छन् र भन्छन्, ‘के को टुरिस्ट हुनु बालेन, त्यहीँ उर्लाबारीका ज्वाइँसाब त रैछन् नि!’
केही दिनअघि ओलीले एक मिडियासँगको कुराकानीमा बालेनको झापा आगमनलाई इंगित गर्दै भनेका थिए, ‘दमक सफा नगरहरूमध्ये पर्छ। व्यवस्थित नगरहरूमध्ये पर्छ। यो महोत्तरी, धनुषाजस्तो अवस्थामा होइन। त्यो भन्दा धेरै एड्भान्स, सफा सुग्घर बेग्लै छ। अब उहाँ त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा गुँइठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ, मलाई थाहा छैन।’
यो भनाइलाई लिएर ओली आलोचित भइरहेका बेला झापा–५ कै एक मतदाताले बालेन पत्नी सविनालाई गोबर र भुसले बनाएको गुइँठा उपहार दिँदै ओलीप्रति व्यंग्यात्मक जवाफ फर्काएकी छन्। सविना स्वयम्ले उक्त तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, ‘झापा ५ घुम्दै गर्दा त्यहाँबाट पाएको अमूल्य उपहार।’
बालेनलाई जिताउन मैदानमा सविना उत्रिएपछि यसलाई झापा ५ का मतदाताले सामाजिक विविधताको मिठो चित्रण ठानिरहेका छन्। हुन पनि मधेसी मूलका बालेन र पहाडी मूलकी सविनाको अन्तरजातीय विवाहले नेपालको सामाजिक विविधतालाई सुन्दर ढङ्गले चित्रण गर्छ।
‘झापा–५ मा बालेनलाई ‘बाहिरिया’ भन्नुअघि सविनाको अनुहारले रोक्छ। किनकि, नेपालको संस्कृतिमा ज्वाइँ बाहिरिया हुँदैनन्, आफ्नै हुन्छन्,’ झापा ५ मा खटिएका रास्वपाकै एक नेताले भने।
रास्वपाको झापा–५ निर्वाचन क्षेत्रको प्रचारप्रसार समितिका संयोजक रहेका विरोध सुवेदी अहिले रास्वपाले आधिकारिक घरदैलो नभएर घोषणापत्रका लागि नागरिकको सुझाव संकलन गर्न हिँडिरहेको बताउँछन्।
‘हामी अहिले नागरिकको समस्याको टिपोट गरेर घोषणापत्रमा समेट्न हिँडिरहेका हौँ,’ उनले भने, ‘बालेनजी देश दौडाहामा भएका बेला उहाँको पत्नी यतै माइती गाउँ आएका बेला उहाँलाई हाम्रा साथीहरूले निर्वाचन क्षेत्र घुमाउनु भएको हो। अर्को महिना औपचारिक घरदैलो सुरु भएपछि बालेनजी पनि हिँड्नुहुन्छ।’
झापा–५ मा को लोकल र को टुरिस्ट भन्ने विषय खासै महत्त्वपूर्ण नभएको समेत उनले बताए।
‘केपी ओली भक्तपुर र बालेन काठमाडौँका मतदाता हुन्। यो स्थानीय तहको निर्वाचन होइन, प्रतिनिधिसभाको हो। जनताको मुद्दा कसले सदनसम्म पुर्याउँछ, कसले राम्रोसँग देशको नेतृत्व गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण हो। लोकल, टुरिस्ट भन्ने विषय नै छैन यसमा। यहाँ त्यस्तो समस्या छैन, हामी यसमा प्रस्ट छौँ,’ उनले भने।
झापा–५ को यतिखेर सविनाको घरदैलोले नयाँ तरंग पैदा गरेको छ। मतदाताले दिएको फूल ग्रहण गर्दै गर्दा र उनीहरूसँग फोटो खिचाउँदै गर्दा सविनाको अनुहारमा आफ्नो श्रीमानप्रतिको विश्वास र माइतीको माटोप्रतिको भरोसा एकसाथ देखिन्छ।
बालेन शाहले काठमाडौँमा डोजर चलाएर संरचना भत्काएका होलान्, तर झापामा सविना काफ्लेले सम्बन्धको नयाँ जग हालिरहेकी छन्। यो निर्वाचनको परिणाम जे सुकै होस्, तर एउटा कुरा पक्का छ– ‘झापा–५ ले यसपटक राजनीतिलाई केवल हार र जितको नजरबाट होइन, नाता र न्यायको नजरबाट पनि हेरिरहेको छ।’
काठमाडौँ महानगरको निर्वाचनताका सविना यसरी मतदातासँग भोट माग्न निस्किएकी थिइनन्। तर पब्लिक हेल्थ पढेकी उनी यसपटक झापा–५ मा अचानक झुल्किइन्।
‘त्यहीँ उर्लाबारी उहाँको माइती घर, झापा ५ स्थित गौरादहतिर उहाँको मामाघर छ। यस्तो बेला आफ्नो श्रीमानका लागि मत माग्दै हिँड्नु स्वाभाविक नै हो,’ हाल बालेनको चुनावी प्रचारमा खटिएका रास्वपाका अर्का एक नेताले भने।
झापा–५ का चोक, चौतारीदेखि चियापसलसम्म यतिखेर चुनावी गफ चलिरहेको छ। चियाको चुस्की लिँदै बालेन समर्थकहरू भनिरहेका छन्– ‘हुन त ओली बा हाम्रै हुन् तर बालेन त ज्वाइँ परे नि! ज्वाइँलाई खाली हात कसरी पठाउनु?’अनिल यादवले नेपाल खबरमा यो समाचार लेखेका छन ।







































































