झापा ११ लाई पराजित गर्दै केराबारीले जित्यो चौथो मच्छिन्द्र गोल्डकपको उपाधि
- ७ फाल्गुन २०८२, बिहीबार
चौथो संस्करणको मच्छिन्द्र अन्तराष्टिय आमन्त्रण गोल्डकपको उपाधि आयोजक केराबारीले हात पारेको छ।
मोरङको केराबारीमा बुधबार भएको फाइनल खेलमा झापा ११ लाई १-० गोल अन्तरले पराजित गर्दै केराबारीले उपाधि जितेको हो। केराबारीका लागि दोस्रो हाफको चौथो मिनेटमा केराबारीका जर्सी नम्बर १० खेलाडी भुवन बस्नेतले एकमात्र गोल गरेका थिए। मध्यान्तरसम्म गोल रहित बराबरी रहेको खेलमा झापा ११ ले मध्यान्तरपछि बारम्बार दबाब दिए पनि कुनै गोल गर्न सकेन जसका कारण झापा ११ केराबारीका सामु निरीह बन्न पुग्यो।

प्रतियोगितामा विजेता बनेसँगै केराबारीले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ४ लाख रुपैया पुरस्कार प्राप्त गर्न सफल भएको छ उपविजेता बनेको झापाले भने ट्रफी, मेडल र प्रमाणपत्र ओए सहित दुई लाख रुपैयाँ प्राप्त गरेको छ। फाइनल खेलको म्यान अफ द म्याच केराबारी फुटबल क्लबका महेन्द्र कार्की घोषित भए । केराबारी रङ्गशालामा भएको फाइनल खेलमा खेल हेर्न एक सय रुपैयाँको टिकट काटेर करिब ३ हजार दर्शक उपस्थित थिए। दर्शकको उपस्थितिले समेत फाइनल खेल थप रोमाञ्चक बनेको थियो।
माघ २८ गते सुरु भई फागुन ६ गतेसम्म चलेको चौथो संस्करणको मच्छिन्द्र अन्तराष्टिय आमन्त्रण गोल्डकप प्रतियोगितामा बेस्ट गोलकिपर केराबारीका बिबेक मगर, बेष्ट डिफेन्स केराबारीकै सुजन रसाइली, बेस्ट मिड फिल्डर का झापा ११ निकेश श्रेष्ठ, बेष्ट फर्वार्ड झापा ११ कै निखिल तामाङ र इमर्जिङ प्लेयर केराबारीका अनिल परियार घोषित भए । उनीहरूले जनही ११ हजारका दरले नगद पुरस्कार प्राप्त गरेका छन्। त्यसैगरी हाइ स्कोरर झापा ११ का निखिल तामाङ र केराबारीका भुवन बस्नेत घोषित भए ।
त्यस्तै बेस्ट कोच केराबारी फुटबल क्लबका प्रशिक्षक सबिन याख्खा घोषित भए । उनले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी बेस्ट प्लेयर अफ टुर्नामेण्टको अवार्ड केराबारी का भुवन बस्नेतले प्राप्त गरे। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन्। त्यसैगरी २ हजार ५ सय पुरस्कार भएको फाइनल खेलको फ्यान अफ द म्याचको पुरस्कार सान्या रसाइलीले प्राप्त गरिन्। विजेता खेलाडीहरूलाई नेपाल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा र केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले पुरस्कृत गरेका थिए।
फुटबल क्लबको आयोजना र केराबारी गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा पानबारी फुटबल क्लब धरान, झापा ११ फुटबल क्लब , द यङ ब्रदर्स क्लब इटहरी, सात दोबाटो फुटबल क्लब ललितपुर, डाँडाबजार फुटबल क्लब धनकुटा, युनाइटेड खर्सङ क्लब भारत, चितलाङ फुटबल क्लब काठमाडौँ र आयोजक केराबारी फुटबल क्लब गरी आठवटा टिमहरू सहभागी थिए। प्रतियोगिताको सेमिफाइनलमा झापा ११, डाँडा बजार फुटबल क्लब, केराबारी फुटबल क्लब र द योङ ब्रदर्स फुटबल क्लब इटहरी पुगेका थिए। जसमा डाँडाबजार र द यङ प्रदर्शलाई पराचित गर्दै केराबारी र झापा ११ फाइनलमा पुगेका थिए।
त्यसैगरी मच्छिन्द्र अन्तराष्टिय आमन्त्रण गोल्डकपको समापन समारोहमा नेपाल मगर संघ केराबारीको तर्फबाट झापा ११ का युवा फुटबल खेलाडी एरोन थापा मगरलाई ५० हजार रुपैया सहित सम्मान गरिएको छ । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले एरोनलाई दोसल्ला ओढाएर नगद सहित सम्मान गरेका छन् ।
गत वर्ष भएको संस्करणको मच्छिन्द्र अन्तराष्टिय आमन्त्रण गोल्डकपको उपाधि पानबारी फुटबल क्लब धरान ले जितेको थियो।
त्यसैगरी केराबारीकै ब्रदर्स कलेक्सन क्लबले प्रथम सुकेचौरी नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा आयोजक सुकेचौरी फुटबल क्लबलाई ट्राइबेकरमा पराजित गर्दै केराबारीले उपाधि जितेको छ। यो जितसँगै केराबारीले एकै दिन दुईवटा प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।







































































