माेरङ ३ बाट एमालेका उम्मेदवार इरनकुमार राईकाे प्रतिबद्धता पत्र सार्वजनिक
- ३ फाल्गुन २०८२, आईतवार
भुमिप्रसाद पाठक
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का नेकपा एमालेका उम्मेदवार इरनकुमार राईले पार्टीको संगठन मजबुत रहेको अवस्थामा आफू गाउँबस्तीमा भिजेको सरल व्यक्ति तथा नयाँ उम्मेदवार रहेकाले पनि आफ्नो जित हुने बताउनु भएको छ ।

पार्टीले आज बेलबारीमा आयोजना गरेको क्षेत्रका प्रतिवद्धताहरु सार्वजनिक कार्यक्रममा बोल्दै राईले सो कुरा बताउनु भएको हो । कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्य युवराज बास्कोटा, पार्टीका प्रदेश सदस्य एवम् प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, पूर्व प्रदेश मन्त्री राजकुमार ओझा, प्रदेश सदस्य दिलीपकुमार राई किशोरलगायतका पार्टीका अगुवाले प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको थियो ।
लामो समय शिक्षा सेवा र साहित्यमा लागिपरेर बौद्धिक व्यक्तित्वका रुपमा गनिनु हुने बेलबारीका राईले जेन्जी पुस्ताको भावनालाई समेट्दै क्षेत्रको विकासमा नयाँ आयाम थप्न सकिने धारणा राख्नु भयो । उहाँले जेन्जी उमेर अन्तर्गत १८ देखि २१ वर्ष उमेर समूहका लागि अर्धसैनिक अभ्यास तालिम, स्वरोजगारी पहल, भ्रष्टाचार निर्मूल पार्ने कुरामा प्रतिवद्धता जाहेर गरिएको प्रष्ट्याउनु भयो ।
नागरिकको सर्वोपरी हितमा संविधान संशोधन, प्रदेश सरकारको पुनर्संरचना, सुशासनको व्यवहारिक आधार तय गर्न डिजिटल सेवा र इगभर्ननेन्स आरम्भ गर्ने, क्षेत्रमा पर्ने पालिकाहरु पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैंचामा पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाइनेसहितका प्रतिवद्धता जनाउनु भयो ।
कृषि नीति निर्माण गरी सिंचाईको दिगो व्यवस्थापनका लागि तमोर चिसाङ बहुउद्धेश्यीय डाइभर्सन आयोजना सञ्चालनमा ल्याइ ४३ देखि ११७ मेघावाटसम्म विद्युत उत्पादन, १० हजार मेट्रिकटन क्षमताको शीत भण्डार, एक वडा एक कृषि प्राविधिक, घरआवास, गाउँबस्ती र सहरबजार व्यवस्थापन तथा विकास, अव्यवस्थित भूमि समस्या समाधान, सडक स्तरोन्नतीका विषय पनि प्रतिवद्धताका रुपमा अघि सारिएको छ ।
बेलबारीस्थित राधानगरको पेट्रोलखानी उत्खनन्, घरमा बसेर स्नातक तहसम्म पढ्न ‘सीप सिक्दै, पढ्दै’ र ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढाइने, धार्मिक आस्थास्थलको संरक्षण र विकास, खोला तटबन्धन, सामाजिक सुरक्षा कोषबाट भत्ता ५ हजार तथा स्वास्थ्य बीमा ५ लाख बराबरको पुर्याउने नीति सरकारबाट अघि सारिने पनि उल्लेख छ ।
युवा, खेलकुद तथा रोजगार, सेवारत तथा सेवानिवृत्त जनशक्तिको उपयोग, आफ्नो गाउँ आफैं बनाऔं अन्तर्गत गर्न सकिने कामलाई जनश्रमदानबाट अघि बढाउन प्रोत्साहन दिइने, साहित्य र कला क्षेत्रको प्रवद्र्धनका कार्यक्रम अघि सारिनेलगायत २५ बुँदे प्रतिवद्धतापत्र जारी गरिएको छ । सूर्य चिन्हका उम्मेदवार राईले घरदैलो कार्यक्रमलाई तीब्रता दिइरहनु भएको छ ।







































































