पथरीशनिश्चरेमा भव्य रुपले सुरु भयो सातौँ राष्ट्रपति रनिङ शिल्ड २०८२

  • २८ माघ २०८२, मंगलवार

मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२’ भव्य रुपले सुरु भएको छ ।
विद्यार्थीहरुका लागि विभिन्न प्रकारको खेलकुद र उद्घाटन कार्यक्रममा सांस्कृतिक कार्यक्रमको मनोरञ्जन तथा फुड फेस्टिभलमा पाकेका विभिन्न परिकारका स्वादले सहभागीहरुलाई रमाइलो गराएको हो ।
पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राईको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, संस्थागत विद्यालयहरुको तर्फबाट नगर प्याब्सनका अध्यक्ष सन्तोष बस्नेत, सामुदायिक विद्यालयहरुको तर्फबाट भागिरथ माविका प्रधानाध्यापक जानुका चेम्जोङ, पञ्चायत माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी तुलसीराम अर्याल, वडा अध्यक्षहरु नैना राई, नवीन कार्की, पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिना, चन्द्र किरातेश्वर माविका प्रधानाध्यपक हर्कराज जिमी, सुनाखरी मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यक्षक भूमिकादेवी मगर, भागिरथ मावि सञ्चालक समितिका अध्यक्ष पर्शु कार्की, सचिवालय सदस्यसमेत रहनु भएका वाल्मीकि मेमोरियल बोर्डिङ स्कुलका निर्देशक नोवल किशोर खनाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्चपास प्रदर्शन गरेका थिए । उपस्थित विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई आयोजक पञ्चायत माविका विद्यार्थीहरुले नृत्य मार्फत स्वागत गरेका थिए ।
तीन दिन (माघ २९) सम्म चल्ने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन तथा निर्देशन समितिको सदस्य सचिवसमेत रहनुभएका पञ्चायत माविका प्रधानाध्यपक अर्जुनकुमार बुढाथोकीले बताउनुभयो ।
प्रतियोगितामा आधरभूत तहका ३४ र माध्यमिक तहका २३ गरि ५७ वटा विद्यालयहरु सहभागी भएको प्रधानाध्यापक बुढाथोकीले बताउनुभयो ।
५४ वटा स्वर्ण पदकका लागि ७ सय ७० विद्यार्थीले प्रतिस्पर्धा गर्ने सचिवालय संयोजक रविन भट्टराईले जानकारी दिनुभयो ।
रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कपर्दी (छात्र, छात्रा), एथलेटिक्स (ट्रयाक) (१०० देखि ३००० मिटर) दौड, रिले दौड, एथलेटिक्स (फिल्ड)तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो, सटफुट प्रतियोगिता हुनेछन् ।
यस बर्षदेखि आधारभूत तह (कक्षा १—८) मात्र चलेका विद्यालयका विद्यार्थीहरुवीच दौड र सम्झना खेल सम्बन्धी प्रतियोगिता भइरहेको छ ।
भलिबलमा छात्रतर्फ १० र छात्रातर्फ छ वटा विद्यालय सहभागी रहेको पञ्चायत माविका खेल शिक्षक नरेशकुमार राईले बताउनुभयो ।
भलिबलमा छात्रको चार, छात्राको एक खेल
मंगलबार नै भएको पुरुषतर्फको भलिवल प्रतियोगितामा भागीरथ माविलाई पराजित गर्दै पञ्चायत, सिंहबाहिनीलाई पराजित गर्दै रेडस्टार, अरुणोदयलाई पराजित गर्दै भूपू सैनिक, केबी मेमोरियललाई पराजित गर्दै जनता मावि दोस्रो चरणमा प्रवेश गरेको छ ।
त्यसैगरी छात्रातर्फको एउटा खेलमा भूपू सैनिकलाई पराजित गर्दै रेडस्टार सेमी फाइनलमा प्रवेश गरेको छ ।
कपर्दी, दौड, कराते खेलको पहिलो चरणको केही खेलहरु आज सम्पन्न भएको छ ।
आधारभूत तह खेलमा मार्चपासमा रेडस्टार प्रथम
उद्घाटन कार्यक्रममा मार्चपाससहित सहभागी भएका विद्यालयहरुवीच भएको प्रतिस्पर्धा रेडस्टार बोर्डिङ स्कुल प्रथम भएको छ । त्यसैगरी भूपू सैनिक दोस्रो, केबी मेमोरियल तेस्रो, जनता माविले सान्त्वना पुरस्कार जितेको छ । विजेता विद्यालयलाई प्रथमलाई ५ हजार, दोस्रो हुने विद्यालयलाई ३ हजार, तेस्रो र सान्त्वना २ र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

आधारभूत तहको सम्झना खेलमा एभरेष्ट बोर्डिङ स्कुलका नवीन पाण्डे प्रथम भएका छन् । वाल जागरण माविका अनुष्का चौधरी दोस्रो र जनकल्याण आधारभूत विद्यालयका भिस्मा राई तेस्रो भएको शिक्षक विवेक न्यौपानेले बताउनुभयो ।