हात्तीको आक्रमणबाट बेलबारीमा एक जनाको मृत्यु

  • २१ फाल्गुन २०८२, बिहीबार

मोरङ बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

हात्तीको आक्रमणमा परेर बिहिबार साँझ बेलबारी नगरपालिका वडा नं. ११, धार्मिक चौक निवासी करिब ४५ वर्षीय विष्णु तामाङको मृत्यु भएको हो ।

तामाङलाइ जंगलबाट घाँस लिएर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमण गरेको थियो । सोही क्रममा उनी गम्भीर घाइते भएका थिए । दुइजना मध्ये तामाङसँगै जंगल गएकी छिमेकी एक महिलाले भागेर ज्यान जोगाउन सफल भएकी थिइन्, तर विष्णु तामाङ भने हात्तीको आक्रमणमा परेका थिए ।

घटनापछि आफन्त साथै स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका वडा नं. १० स्थित पूर्व-पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर भित्र पर्ने सृजना वन क्षेत्रमा तामाङको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय बेलबारी, सशस्त्र प्रहरी बल लक्ष्मी मार्ग, डिभिजन वन कार्यालय बेलबारी तथा स्थानीयवासीको संयुक्त प्रयासमा शव जंगलबाट बाहिर निकालेर मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ ।