मोरङ ३ का रास्वपा उम्मेदवार गणेश कार्कीले सार्वजनिक गरे चुनावी प्रतिबद्धता पत्र

  • ९ फाल्गुन २०८२, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट  मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेश कार्कीले चुनावी प्रतिबद्धता पत्र अर्थात् घोषणापत्र सार्वजनिक गरेका छन् ।

शनिबार मोरङ बेलबारी ११ लक्ष्मी मार्गस्थित पार्टीको निर्वाचन  क्षेत्रस्तरीय  चुनाव प्रचारप्रसार कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीका प्रदेशदेखि जिल्ला एवं पालिका स्तरीय नेता कार्यकर्ता र सयौं समर्थकहरूको उपस्थितिमा उम्मेदवार कार्कीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।    प्रतिबद्धता पत्र सार्वजनिककरण कार्यक्रममा समानुपातिक सांसदका उम्मेदवार  प्रेमलाल चौधरी,  राष्ट्रिय स्वतन्त्र पार्टीका तीन नम्बर क्षेत्रीय सभापति गीता सोडारी, क्षेत्र नम्बर ३ चुनाव परिचालन समिति संयोजक प्रकाश घिमिरे,  रास्वपाका जिल्ला सचिव सुरेश श्रेष्ठ, रास्वपा बेलबारीका सभापति भीम श्रेष्ठ,  पथरी सभापति हिक्मत श्रेष्ठ,  सुन्दरहरैचाका सभापति जितेन्द्र सोडारी, कानेपोखरी पालिका सभापति महेन्द्र बोहरा लगायत विभिन्न पालिका तथा वडा नेता कार्यकर्ताहरूको  उपस्थिति थियो।

प्रतिबद्धता पत्रमा आफू निर्वाचन भएमा संसदमा खेल्ने संसदीय भूमिका, सरकारको निगरानी, क्षेत्रगत प्रतिनिधित्व र जवाफदेहीताको अभ्यास  गरी चारवटा शीर्षक समेटिएको छ । प्रतिबद्धता पत्रमा शिक्षा ,स्वास्थ्य र सामाजिक तथा व्यावसायिक सङ्घसंस्था तथा कर्मचारीलाई राजनीति मुक्त गर्ने, रोकिएका भ्रष्टाचारका फाइलहरू अगाडि बढाउने,  भ्रष्टाचार नियन्त्रण, रोजगारी सृजना,  सुकुम्बासी समस्या समाधान,  वन तथा पर्यावरण संरक्षण  जस्ता कुराहरु समेटिएका छन् ।  प्रतिबद्धता पत्रमा  हरेक तिन -तिन महिनामा जनतासँग सुनवाई गर्ने  उल्लेख गरिएको छ।  अन्य दलका नेताहरुले जस्तो सस्तो लोकप्रियताका लागि गर्न नसकिने कामको प्रतिबद्धता नगर्ने र संसद भएर मन्त्री तथा मेयर, उपमेयर र वडाध्यक्षको क्षेत्राधिकार भित्र पर्ने काम गर्छु भनी भ्रम नफैलाउने कार्कीले दाबी गरे ।

प्रतिवद्धतापत्र सार्वजनिक गरे लगत्तै उपस्थित सबै नेता कार्यकर्ताहरु बेलबारी ११  स्थित  लक्ष्मीमार्ग चोक आसपास घरदैलो लागि अगाडि बढेका थिए। घरदैलो अभियानका लागि नेता कार्यकर्ताहरू  अगाडि बढ्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ बालेन्द्र शाह पश्चिमबाट पूर्वतर्फ जाने क्रममा टुप्लुक्क लक्ष्मीमार्ग आइपुगेका थिए ।   अर्को प्रहरीको गाडीले स्कटिङ गरेर पूर्वतर्फ जाने क्रममा आफैंले  गाडी चलाएर यात्रा गरिरहेका  बालेन्द्र शाहलाई   देखेपछि उत्साहित भएका नेता कार्यकर्ताहरूले माइकिङ सहित उल्लास मनाएका थिए  ।  तर  हात हल्लाउँदै गाडीबाट  नझरीकन बालेन्द्र शाह  पूर्वतर्फ  गएका थिए ।