सृजना सामुदायिक वन भाउन्नेको सत्ताइसौँ साधारण सभा सम्पन्न

  • ३ फाल्गुन २०८२, आईतवार

दलीय खिचातानी र केही स्थानीय नेताहरूको स्वार्थका कारण लामो समयदेखि मुद्दा मामिला र झमेला झेल्दै आएको बेलबारी १० स्थित भाउन्नेमा रहेको श्री सृजना सामुदायिक वन उपभोक्ता समुहको सत्ताइसौँ साधारण सभा सम्पन्न भएको छ।
सबडिभिजन वन कार्यालय बेलबारीका प्रमुख वन अधिकृत दिपेश मिश्रको प्रमुख आतिथ्यता र सामुदायिक वनका अध्यक्ष देउमान सुब्बाको अध्यक्षता तथा बेलबारी १० का वडा अध्यक्ष गंगाबहादुर याखा, बेलबारी ८ का वडाध्यक्ष धनपति गौतम , सव डिभिजन बन कार्यालय बेलबारीका सहायक बन अधिकृत राजेन्द्रप्रसाद घिमिरे ,बेलबारी नगर सामुदायिक वन उपभोक्ता महासङ्घ की प्रतिनिधि सीता तामाङ, समाजसेवी ताराहाङ राई , केदारनाथ आचार्य, नरबहादुर तामाङ, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा भाऊन्ने सामुदायिक भवनमा गत २०८२ माघ २४ गते शनिबार साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा सामुदायिक वनका अध्यक्ष देउमान सुब्बाले ५ बर्षे बन बिकाश कार्य योजना , आर्थिक वर्ष 0८१/0८२ को आम्दानी खर्चसहितको प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/0८३ को भावी वार्षिक कार्यक्रम लगायत पेश गरेका थिए। अदालतमा मुद्दा र वन कार्यालयमा उजुरी परेका कारण झन्डै एक वर्षदेखि खासै गतिविधि र काम कारबाही गर्न नपाएको यस सामुदायिक वनले गतवर्ष ४८ लाख ८१ हजार ५ सय १४ रुपैयाँ आम्दानी गरेको थियो । जसमध्ये गत आ. ब. को आम्दानी मध्ये २० लाख ५७ हजार ८ सय ३७ रुपैयाँ २६ पैसा रा बा बैंक बेलबारीमा मौजाद रहेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ। सामुदायिक वनले गत चैतमा कार्ययोजना अनुसार वनबाट ३ हजार क्युबिक फिट भन्दा बढी लकडी निकालेको भएपनि उजुरी र मुद्दा परेपछि खर्च गर्न समेत नपाएको सामुदायिक वनका अध्यक्ष देउमान सुब्बाले बताए । अघिल्लो वर्षदेखि आफ्नै भवन निर्माण गर्न थालेको सामुदायिक वनले वृक्षारोपण घेराबारा, वन संरक्षण जस्ता क्षेत्रमा केही काम गरेपनि पाँच वर्षे वन कार्य योजनाको म्याद सकिएको र त्यसमाथि राजनीतिक दलका केही व्यक्तिहरूको उक्साहटमा विभिन्न निकायमा उजुरी र मुद्दा मामिला गरिएको कारण धेरै काम गर्न नसकेको अध्यक्ष सुब्बाले बताए ।
बिधानत गणपुरक परिषद् सदस्यहरूको सहभागितामा भएको साधारण सभाले अध्यक्षको प्रतिवेदन पारित गरेको छ । साधारण सभाले विधान संशोधन गर्नुका साथै सामुदायिक वनको पाँच वर्षे वन कार्ययोजना लगायत आबश्यक अन्य प्रतिवेदनहरु समेत पारित गरेको छ।
साधारण सभामा नेपाली कांग्रेस बेलबारीका नगर सभापति तथा वनका पुर्व अध्यक्ष छत्र लिम्बु, वनका पूर्व सचिव ध्रुव कुमार महतको नेतृत्वमा सधारण सभामा उपस्थित नै नभएका परिषद सदस्यहरुको समेत हस्ताक्षर भनि निवेदन पेश गरि बर्तमान समिति विगठन गरी अर्को समिति गठन गर्न माग गरेपनि साधारण सभामा वर्तमान कार्यसमिति पक्षधरहरूको बहुमतबाट उक्त निवेदन कोमाग र बिगतको छानबिन प्रतिबेदन पछि आएको अबिश्वासको प्रस्ताव समेत अस्वीकृत भएको छ। उपभोक्ताहरू दुई धारमा देखिए पनि साधारण सभा भने सोहार्दपूर्ण रुपमा सम्पन्न भएको छ।
साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सबडिभिजन वन कार्यालय बेलबारीका प्रमुख दिपेश मिश्रले व्यक्तिगत र दलीय स्वार्थका कारण निरन्तर मुद्दा मामिला र झैझगडा गरिरहे सरकारले सामुदायिक वन नै खारेज गर्न सक्नेतर्फ संकेत गर्दै सबै उपभोक्ताहरुलाई एकताबद्ध भई सामुदायिक वनका गतिविधिलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे।
साधारण सभामा बोल्दै सृजना सामुदायिक वनका अध्यक्ष देउमान सुब्बाले सामुदायिक वनमा जुनसुकै पक्ष आएपनि उपभोक्ताको हितमा काम गर्नुपर्ने भएकोले कसैको उक्साहटमा नलाग्न उपभोक्ताहरुलाई आग्रह गरे । उनले विगतमा लामो समय सामुदायिक वनको नेतृत्व गरेका व्यक्तिहरूले पारदर्शी रुपमा सामुदायिक वन सञ्चालन गर्न नसकेको र उल्लेख्य कामहरू पनि गर्न नसकेको तर आफूहरूको कार्यकालमा राम्रो काम गर्दा गर्दै पनि कहिले अदालतमा र कहिले वन कार्यालयमा उजुरी दिएर काम गर्न नदिएको बताए ।
यस सामुदायिक वनले गतवर्ष नै ५० फुट लामो हल र ३ वटा कोठासहितको भवन निर्माणको काम थालिसकेको छ। जमिन मुनिको काम सम्पन्न गरी पिलर निर्माण भइसके पनि वनका पूर्व अध्यक्ष छत्र लिम्बु, पुर्वसचिव ध्रुव महत लगायत १९ जनाले भवन निर्माणको काम रोक्न माग गर्दै उजुरी दिएपछि यसअघि भवन निर्माणको काम समेत अघि बढ्न सकेको छैन।
त्यसो त यसअघि वनको अध्यक्ष रहेका छत्र लिम्बुले कार्य समितिमा रहँदा अवैध तरिकाले काठ बिक्री गरी १७ लाख ५ हजार ३ सय ३० रुपैयाँ आर्थिक अनियमितता गरेको भन्दै वन कार्यालयमा उजुरी र अदालतमा मुद्दा परेको थियो। उक्त मुद्दा फैसला भई कार्वनवयनमा छ ।