भव्य रूपमा सम्पन्न भो कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता

  • १९ माघ २०८२, आईतवार

बेलबारी नगरपालिका ११ मा अबस्थित डाँगीहाट ब्याडमिन्टन क्लबद्वारा आयोजित स्वर्गीय वल वहादुर मगर स्मृति प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

बेलबारी नगरपालिकाको मुख्य सहयोगमा भएको प्रतियोगिता अन्तरगत पाँचवटा  विधामा प्रतियोगिता गराइएको थियो ।  शक्रवार सुरु भई  बेलबारी ११ लक्ष्मीमार्ग स्थित कवर्डहलमा आईतवार सम्पन्न  प्रतियोगितामा कोशी प्रदेशका ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, इलाम, उदयपुर, झापा, सुनसरी र मोरङका गरी १ सय ८ टिमको सहभागिता थियो । प्रतियोगितामा मेन्स डबल, वीमेन्स डबल, भेट्रान, अण्डर १५ र क्लब मेम्बर्सहरुबीच बेग्ला बेग्लै प्रतियोगिता भएका थिए ।  मेन्स डबल तर्फ ३२ वटा टिम, वीमेन्स डबल तर्फ १६ वटा टिम ,भेट्रानतर्फ ३२ वटा टिम र अन्डर १५ मा १६ वटा टिम सहभागी थिए ।त्यस्तै डाँगीहाट ब्याडमिन्टन क्लब मेम्बर्स स्तरीय प्रतियोगितामा १६ वटा टिम सहभागी थिए ।

प्रतियोगीताको पुरुष डबल्स ‘बी’ लेभल तर्फ टेक चौहान र रविन सौदेन बिजेता भएका छन् ।  उनीहरुले नगद रु ४१ हजार, ट्रफी सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । मेन्स डबलतर्फ सुजल चौधरी र हिमाल श्रेष्ठको टिम द्वितीय भएको छ  । त्यसैगरी न्जुहाङ लिम्बु र बिकास तामाङ तथा गौरव लिम्बु र उत्सव उप्रेतीको टिम तृतीय भएका छन्  । यस विधामा द्वितीय हुने टिमले ३१ हजार नगदसहित ट्रफी सिल्ड र प्रमाणपत्र तथा तृतीय हुने टिमले १० हजार ५ सय को दरले नगद तथा ट्रफी सिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी महिला डवल तर्फ श्रृष्टी राई र रोजी राईको टीमले उपाधि जितेको छ ।  उनीहरुले २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सो विधामा सुजना राई र रमा सुवेदीको टिम द्वितीय भएको छ भने निर्मला राइ तथा लक्ष्मी तामाङ र अन्जिला राई तथा आरजु सिग्देल को टिम तृतीय भएका छन् ।

भेट्रान (४५ वर्षभन्दा माथि) तर्फ श्रवण चौधरी र नारायण श्रेष्ठको टीमले बिजेता बन्दै नगद २५ हजार  सहित ट्रफी मेडल र प्रमाणपत्र, प्राप्त गरेका छन् । त्यस्तै दीपक   आङदम्बे र पूर्ण बुढाको टिम  द्वितीय तथा  भजनलाल चौधरी र सन्तोष कटवाल एवं मदन लिम्बु र मनोज लिम्बुको टिम तृतीय भएका छन् ।  यस विधामा द्वितीय हुनेले १५ हजार  ट्रफी सिल्ड र प्रमाणपत्र तथा तृतीय हुनेले सात हजार ५  सयका दरले नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यु १५ सिङ्गल तर्फ अदिप मगर विजेता बनेका छन् । उनले १० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । अन्डर १५ सिङ्गलतर्फ एन्जल दुलाल द्वितीय भएका छन् । त्यस्तै प्रज्ञान ढकाल र जङ्सङ लामा तृतीय भएका छन् । सो विधामा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ८ हजार र तृतीय हुनेले  तीन -तीन हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

क्लब मेम्बरतर्फ विकास श्रेष्ठ र रमेश राई बिजेता भएका छन् । उनीहरुले नगद १५ हजार,  सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता सबै टिमलाई बेलबारी नगरपालीका प्रमुख दिल प्रसाद राई लगायतले नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त वितरण गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी प्रज्ञान ढकाल र उदयमान खेलाडी पुरुषतर्फ सागर चौधरी र महिला तर्फ सविज्ञा दाहाल घोषित भएका छन् ।

डागीहाट ब्याडमिन्टन क्लबले विगत तीन वर्षदेखि प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको छ। गत वर्षसम्म बलबहादुर मगरको अध्यक्षतामा रहेको क्लबले प्रतियोगिता आयोजना गर्दै आएको थियो। मगरको केही समयअघि हृदय घातका कारण मृत्यु भएपछि यस वर्षदेखि उनकै नाममा प्रतियोगिता गराउन थालिएको छ।

कोशी प्रदेश स्तरीय प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुने भनिएपनि समय अभावका कारण १८ गते मात्र सकिएको आयोजक समितीका अध्यक्ष हरी कुमार पाण्डेले जानकारी दिए । बेलबारी नगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगितामा करिब १२ लाख रुपैयाँ खर्च पूर्वानुमान गरिएको थियो । आयोजकका अनुसार प्रतियोगिताबाट २ लाखभन्दा बढी खुद नाफा भएको आयोजकले जनाएका छन् । – अम्बिका भण्डारी