बेलबारीमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ चल्दै
- ८ माघ २०८२, बुधबार
बेलबारीमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ तथा तीन दिने विद्यालय तह विज्ञान प्रदर्शनी प्रदर्शनी सुरु भएको छ।
बेलबारी नगरपालिकाको आयोजना र बेलबारी ११ लक्ष्मी मार्गस्थित लक्ष्मी माविको मुख्य व्यवस्थापनमा मंगलबारदेखि लक्ष्मी मार्गमा राष्ट्रपति रनिङशील प्रतियोगिता तथा विज्ञान प्रदर्शनी सुरु भएको हो। बेलबारी नगरपालिकाका नगरप्रमुख तथा राष्ट्रपति रनिङशील प्रतियोगिता मार्गदर्शक समितिका संयोजक दिलप्रसाद राईले मंगलबार बिहान राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरेका थिए । लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा विद्यार्थीहरूको उपस्थिति हेर्न लायकको थियो । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले खेल मैदान वरिपरि मार्च पास गरेका थिए । कार्यक्रममा तेक्वान्दो खेलाडीहरूले पनि खेल प्रदर्शन गरेका थिए। नगर प्रमुख दिलप्रसाद राईले बेलुन उडाएर नगरस्तरीय राष्ट्रपति रनिङसिर प्रतियोगिताको उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा शिक्षा र खेल क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, शिक्षक तथा विभिन्न वडाका वडाध्यक्षसहित जनप्रतिनिधिहरूको उपस्थिति थियो।
रनिङसिल्ड प्रतियोगितामा बेलबारी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय गरी २८ वटा विद्यालयहरू सहभागी छन्। ती विद्यालयका ६८३ जना विद्यार्थीहरूले करिब डेढ दर्जन प्रतियोगिताहरूमा भाग लिएका छन्।
प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, कराते एवं एथलेटिक्स अन्तर्गतका हाइ जम्प, लङ जम्प, ट्रिपल जम्प, शर्ट फुट, सर्टपट, ज्यापलिङ, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड र ३००० मिटर दौड आदि प्रतियोगिताहरू समावेश हुनेछन् । ती सबै खेलहरुमा छात्र र छात्रातर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछन् । हरेक प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमश स्वर्ण, रजत र काश्य पाउनेछन् । प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरूले सिल्ड मेडल र प्रमाणपत्र पाउनेछन्। नगरस्तरीय प्रतियोगिताका विजेताहरूले जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा सहभागी हुन पाउनेछन् । त्यसैगरी जिल्ला स्तरीय प्रतियोगिता का विजेताहरूले राष्ट्रिय स्तरको राष्ट्रपति रनिङशील प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट विद्यार्थीहरूको प्रतिभा र क्षमता प्रस्फुटन हुने बताए । तर प्रतियोगितामा अझै पनि अपेक्षित सङ्ख्यामा विद्यार्थीहरूको सहभागिता हुन नसकेकोले विद्यालयहरूले विद्यार्थीहरूको सहभागिता बढाउनुपर्ने उनले बताए।
त्यसैगरी बेलबारी नगरपालिकाकै आयोजनामा मंगलबारदेखि नै लक्ष्मी मार्गमा विद्यालय तह विज्ञान प्रदर्शनी सुरु भएको छ।
लक्ष्मी माध्यमिक विद्यालय परिसरमा सुरु भएको प्रदर्शनीको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले नै उद्घाटन गरेका छन् । कवीर माध्यमिक विद्यालयका प्रधानाध्यापक अभय लिम्बुको संयोजकत्वमा विद्यालय तह विज्ञान प्रदर्शनीका लागि गठित व्यवस्थापन समिति को व्यवस्थापनमा भएको प्रदर्शनीमा करिब डेढ दर्जन विद्यालयका विद्यार्थीहरूले आफूले बनाएका विज्ञानसँग सम्बन्धित विभिन्न सामग्री तथा आविष्कार सँग सम्बन्धित स्टलहरू राखेका छन्। प्रदर्शनीमा लक्ष्मी माध्यमिक विद्यालय, कवीर माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय, जनता नमुना माध्यमिक विद्यालय, माउन्ट एभरेष्ट इङ्लिस स्कुल, शिक्षा सन्देश इङ्लिस स्कुल, कसेनी माध्यमिक विद्यालय, ज्ञानोदय इङ्लिस स्कुल, डाँगीहाट लिटल बुद्ध इङ्लिस स्कुल, डेल्टा इङ्लिस स्कुल, सगरमाथा इङ्लिस स्कुल, धीरनाथ सम्फुल माध्यमिक विद्यालय, वाल जगत बोर्डिङ स्कुल, काली माध्यमिक विद्यालय, सिंहदेवी एकाडेमी, लगायतका विद्यालयहरूले विज्ञानसँग सम्बन्धित स्टलहरू राखेका छन्।
विज्ञान प्रदर्शनी स्थलमा नासा नेपाल लगायत विभिन्न संस्थाले सूर्यलाई हेर्न सकिने दूरबीनहरूको स्थल पनि राखेका छन्। त्यसैगरी चन्द्रमा, आकाश र समुद्रसहित ब्रह्माण्डको अवलोकन गरेको अनुभूति हुने साइन्स प्लानेटरियम पनि प्रदर्शनीमा देख्न पाइनेछ।







































































