सुन्दरहरैँचा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ मा साजिलाल प्रथम र सुकुना दोस्रो
- ८ माघ २०८२, बुधबार
सुन्दरहरैँचा नगरस्तरीय ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय प्रथम भएको छ ।

तेस्रो दिन साेमबार सुकुना माविकाे खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा २१ स्वर्ण, १६ रजत र १३ कास्य पदकसहित साजिलाल माध्यमिक विद्यालय लगातार चाैचाे पटक नगर प्रथम भएको हो । त्यसैगरी १३ स्वर्ण, २६ रजत र १४ कास्य पदकसहित सुकुना माध्यमिक विद्यालय दोस्रो तथा ९ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित पूर्वाञ्चल एकेडेमी तेस्रो भएको भएका छन् । विजेता विद्यालयलाई नगरप्रमुख केदारप्रसाद गुरागाईं लगायतले शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।
विधागत खेलतर्फ एथलेटिक्समा साजिलाल माध्यमिक विद्यालय प्रथम, महिला भलिबलमा ब्राइट फ्युचर एकेडेमी प्रथम, पुरुष भलिबलमा सुकुना माध्यमिक विद्यालय प्रथम, महिला कबड्डीमा जनता माध्यमिक विद्यालय पचाम प्रथम, पुरुष कबड्डीमा सुकुना माध्यमिक विद्यालय प्रथम, उशुमा पूर्वाञ्चल एकेडेमी प्रथम, तेक्वान्दोमा साजिलाल माध्यमिक विद्यालय प्रथम र करातेमा प्रभातकिरण इङ्लिस स्कुल प्रथम भएका छन् ।
सबै खेलहरूको निर्णयपछिको अन्तिम लिडरबोर्ड अनुसार साजिलाल माध्यमिक विद्यालय २१ स्वर्ण, १६ रजत र १३ कास्यसहित पहिलो, सुकुना माध्यमिक विद्यालय १३ स्वर्ण, २६ रजत र १४ कास्यसहित दोस्रो तथा पूर्वाञ्चल एकेडेमी ९ स्वर्ण, ४ रजत र ३ कास्यसहित तेस्रो भएका छन्।त्यसैगरी सिद्धार्थ सेकेन्डरी स्कुल ७ स्वर्ण, ३ रजत र ९ कास्यसहित चौथो, जनता माध्यमिक विद्यालय बुधबारे ५ स्वर्ण, २ रजत र ५ कास्यसहित पाँचौँ, प्रभातकिरण इङ्लिस स्कुल ४ स्वर्ण, २ रजत र ६ कास्यसहित छैटौँ, शिक्षा निकेतन सलकपुर २ स्वर्ण, १ रजत र ६ कास्यसहित सातौँ, जनता माध्यमिक विद्यालय पचाम १ स्वर्ण, ३ रजत र ३ कास्यसहित आठौँ, ब्राइट फ्युचर एकेडेमी १ स्वर्ण, १ रजत र ४ कास्यसहित नवौँ, ज्योति माध्यमिक विद्यालय १ स्वर्ण, १ रजत र २ कास्यसहित दशौँ, महेन्द्र माध्यमिक विद्यालय शुक्रवारे १ स्वर्ण र २ कास्यसहित एघारौँ, बालसदन एकेडेमी १ स्वर्ण र २ कास्यसहित बाह्रौँ, लब्ली एन्जल इङ्लिस स्कुल २ रजत र १ कास्यसहित तेह्रौँ, श्रीखण्ड माध्यमिक विद्यालय १ रजत र ३ कास्यसहित चौधौँ, टेन्डरफिट बोर्डिङ स्कुल १ रजत र १ कास्यसहित पन्ध्रौँ, दुलारी मल्टिपल क्याम्पस १ रजतसहित सोह्रौँ, द राइजिङ इङ्लिस स्कुल २ कास्यसहित सत्रौँ र पञ्चायत माध्यमिक विद्यालय २ कास्यसहित अठारौँ स्थानमा छन्।
सुन्दरहरैँचा नगरपालिकाको आयोजना र सुकुना माविको मुख्य ब्यबस्थापनमा भएको ७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निजी र सामुदायिक गरी २५ वटा विद्यालय र करिब ७ सय विद्यार्थीहरु सहभागी थिए । नगरस्तरीय प्रतियोगिताका बिजेताले जिल्ला स्तरीय र जिल्ला खेलका बिजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेछन् । गत बर्ष मोरङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सुन्दरहरैंचाले जितेको थियो ।







































































