लक्ष्मीमार्गमा हुँदैछ बेलबारी खेलकुद प्रबर्द्धन तथा सांस्कृतिक महोत्सव
- १५ मंसिर २०८१, शनिबार
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा यहि मंसिर १७ गतेदेखि बेलबारी खेलकुद प्रबर्द्धन तथा साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ ।
साबिक डाँगीहाट फुटबल क्लब अर्थात एल. एक्स. सिटी फुटबल क्लबको आयोजनामा यही मंसिर १७ गतेदेखि पौष ५ गतेसम्म १९ दिने महोत्सब हुने भएको हो । आयोजकले शनिबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको छ । दिउँसो खेलकुदका विभिन्न प्रतियोगिता हुने र बेलुका ६ बजेदेखि ११ बजेसम्म महोत्सव संचालन हुने आयोजक क्लबका सचिव रोशन श्रेष्ठले बताए ।
महोत्सबमा देशका चर्चित र ख्यातीप्राप्त कलाकार र ब्याण्डहरुको दैनिक प्रस्तुति रहने छ । स्थानीय उत्पादन, खानपिन, जातजातिका मौलिक झाँकी, खानाका परिकार तथा विभिन्न बस्तुहरुको स्टल रहने महोत्सवमा रोटेपेङ लगायत खेलजन्य मनोरञ्जनका सामग्री तथा दैनिक हाउजी समेत खेलाइने महोत्सवमा स्थानीय स्तरमा रहेका कलाकारको प्रतिभा प्रष्फुटन गर्ने खालका प्रस्तुति समेत रहनेछन् । स्थानीय खेलकुद प्रवद्र्धन तथा व्यवसायको स्तर वृद्धि गर्नु, जातजातीको खानपानको विशेषता चिनाउनु, जातजातीका झाँकी सहितको सांस्कृतिक कार्यक्रम गरी बेलबारी र नगरको पर्यटकीय स्थललाई परिचित गराउने उद्धेश्यका साथ यो महोत्सब आयोजना गर्न लागिएको महोत्सबका संयोजक नुतन लिम्ब (मादेन) ले जानकारी दिए ।
आयोजक एल एक्स सीटी क्लबका महासचिव शम्भु बस्नेतले स्थानीय क्षेत्रमा खेलाडी उत्पादन गर्दै गोल्डकप लगायत ठुल्ठुला प्रतियोगिताहरुमा बाहिरबाट खेलाडी ल्याउनुपर्ने अबस्था अन्त्य गर्न क्लबले फुटबल एकेडेमी संचालन गर्न लागेको र त्यसका लागि सहयोग जुटाउने मुल उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
पत्रकार सम्मेलनमा स्टल संयोजक बिशाल कटुवाल, आयोजक क्लबकी सदस्य पार्वती गौतम र बिरेन माझी तथा क्लबका सल्लाहकार शिवकुमार राई लगायतको उपस्थिति थियो ।
महोत्सवमा ६५ लाख खर्च हुने र ७० लाख आम्दानी हुने अनुमान गरिएको छ । प्राप्त आम्दानीबाट क्लबले खेलकुद एकेडेमी संचालन गर्ने तथा बिभिन्न सामाजिक कार्यहरु गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । पहिलो दिन गायक सबिन राईसहितको ब्याण्डले प्रस्तुति दिनेछ ।
तत्कालीन डाँगीहाट ५ हाल बेलबारी ११ मा वि.स २०७० सालमा स्थापना भएको तत्कालीन बेलबारीकै अग्रणी र परिचित क्लब डॉगीहाट युथ क्लब हाल एल. एक्स. सिटी फुटबल फुटबल क्लबले सातौं बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप सम्पन्न गरिसकेको छ ।







































































