फागुन १७ देखि कहाँ बेपत्ता भइन् बेलबारीकी यी महिला ? अनि किन पक्राउ परे योगेन्द्र ?
- २४ फाल्गुन २०७५, शुक्रबार
फागुन १७ गते बेलबारी ४ का करिब ४५ वर्षिय योगेन्द्र गुरुङ विगत ५ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएकी बेलबारी ४ कै करिव २६ वर्षिया महिला रमिला राईलाई दोहोरीमा जाने भन्दै लिन घरमै गए । योगेन्द्रले रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर निस्किएका थिए ।
सो दिन उनीहरु विराटचौक स्थित हवाना होटलमा गएका थिए । त्यहाँ उनीहरु नाचगान र रमाइलो पनि गरे । शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर फर्किए । उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडीदिए तर रमिलालाई भने गाडीमै लिएर गए ।
रमिला शनिबार विहानपनि घरमा नआएपछि भने परिवारका सदस्यले खोजी गर्न थाले । रमिलाकी वहिनीले योगेन्द्रलाई फोन गरेर सोधिन । योगेन्द्रले राति साढे ११ बजेतिरै रमिलाको घर नजिकै छोडिदिएको जवाफ दिए । तर,रमिला घर आएकी थिइनन् । सोही रातिदेखि वेपत्ता रमिलाको अहिलेसम्म अत्तोपत्तो छैन ।

रमिला घर नआएको भनेर परिवारले फोन गरेपछि शनिबार विहानै योगेन्द्र आफै पनि रमिलाको घर आएको रमिलाकी आमा डम्बर कुमारीले बताइन् । त्यसदिन योगेन्द्र ३ पटक सम्म रमिलाको घरमा गएका थिए । केही पत्ता नलागेपछि योगेन्द्रकै सल्लाह अनुसार प्रहरीमा हुलिया दिएको पनि आमाले बताइन् ।
युवती हराएपछि योगेन्द्र आफैले पनि इप्रका बेलबारीका इन्स्पेक्टरलाई फोन गरेर मेरी गर्लफेण्ड हराइन्, तनाव भयो भनेको योगेन्द्र निकटका साथीहरुले बताउने गरेका छन् । युवती हराएको केही दिन वितिसक्दा पनि अवस्था थाहा हुन नसकेपछि अवस्था पत्ता लगाउन योगेन्द्रलाई युवतीको परिवार,आफन्त र छरछिमेक सबैले चौतर्फी दवाव दिन थालेका थिए । योगेन्द्रले युवतीलाई घरमै बन्धक बनाएर राखेको आशंकामा बेलबारी ४ स्थित योगेन्द्रको घरमा प्रहरीले फागुन २० गते सोमबार खानतलासी गरेको थियो । खानतलासीका क्रममा केही नभेटिएपछि प्रहरी र आफन्तहरु फर्किएका थिए ।
त्यसको भोलीपल्ट मंगलबार दुवैपक्षविच इलाका प्रहरी कार्यालय बेलबारीमा छलफल समेत चलेको थियो । छलफलका क्रममा ३ दिनसम्म दुवैपक्षले युवतीको खोजतलास गर्ने सहमति बनेको थियो । सोही दिन गुरुङले मोरङका केही वकिलहरुसँग घटनाको परामर्श समेत गरेको बुझिएको छ ।
रमिला हराएपछि खोजी गर्ने क्रममा प्रहरी र गाउँले समेत मिलेर सबैखालका उपाय अपनाएका थिए । इलाका प्रहरी कार्यालय बेलबारीले विशेष टोली नै खटाएर गाउँलेसँग समन्वय गरेर बेतना र आसपासको जंगल क्षेत्रमा बुधबार खोजी गरेका थिए । यस्तै विहिबार गछिया र गोठगाउँ आसपासका खोला किनार र जंगलमा गाउँले र प्रहरीको संयुृक्त टोलीले खोजतलास गरेको थियो ।
हल्ला चलेपछि काठमाण्डौबाट बेलबारी आएकी थिइन् योगेन्द्रकी श्रीमती पनि
काठमाण्डौमा बस्दै आएकी योगेन्द्रकी श्रीमती घटना थाहा पाएलगत्तै सोमबार काठमाण्डौबाट बेलबारी आएकी थिइन् । बुधबार दिउँसो योगेन्द्रले श्रीमतीलाई प्लेन मार्फत विराटनगरबाट काठमाण्डौ पठाउने भन्दै बेलबारीबाट निस्केका थिए । तर त्यतिन्जेलसम्म चालु रहेकोे नेपाल टेलिकमको पोस्टपेड मोबाइल योगेन्द्रले त्यसपछि स्विच अफ गरेका थिए । गुरुङको बारेमा सुक्ष्म रुपमा सुचना संकलन गरिरहेको प्रहरीका लागि मोबाइल स्विच अफ भएपछि टाउको दुखाइको विषय बनेको थियो ।
यता हराएको एक साता वितेपछि मात्रै युवतीका आफन्तले विहिबार खोजतलास गरीपाउँ भनी योगेन्द्रको नाम किटान गरेर जाहेरी दिएका थिए । प्रहरीले भने योगेन्द्रका बारेमा सुक्ष्म रुपमा सुचनाहरु संकलन गर्दै अनुसन्धान तिब्र बनाएको थियो ।
योगेन्द्रको दावी झुटो सावित भएपछि…
युवतीलाई फागुन १७ गते शुक्रबार राति साँढे ११ बजे घरमै छोडिदिएको भनेर दावी गरेपनि सोही दिन रातिका ‘सिसिटिभी फुटेज’ लाई आधार मान्ने हो भने योगेन्द्रले झुटो बोलेको देखिन्छ । यही कारणले गर्दा पनि प्रहरीको ध्यान योगेन्द्र माथी नै सोझिएको थियो ।
शुक्रबार राति साँढे ११ बजे युवतीलाई घरमा छोडेको बताउने योगेन्द्रको गाडी सिसिटिभी फुटेज अनुसार सोही रातको साँढे १२ बजे इटहरी पश्चिम लागेको देखाउँछ भने शनिबार विहान साँढे ४ बजे गोठगाउँबाट पुर्व लागेको देखाउँछ । योगेन्द्रले भनेको कुरा र गाडीको अवस्था हेर्दा नमिलेपछि उनीमाथी प्रहरीले विशेष टोली परिचालन गरेको थियो ।
पक्राउ परेका गुरुङलाई इलामको पशुपतिनगरबाट इलाका प्रहरी कार्यालयको विशेष टोलीले बेलबारी ल्याउँदै छ । – निरन्तर खबरबाट
यो पनि पढ्नोस् …
आठ दिनदेखि बेलबारीकी एक महिला बेपत्ता, बेपत्ता पारेको आशंकामा गुरुङ पक्राउ







































































