छ वटा प्रस्ताव पारित गर्दै सकियो सुन्दरहरैंचा नगरको १७ औँ नगरसभामा
- ७ चैत्र २०८२, शनिबार
मोरङको सुन्दरहरैंचा नगरपालिकाको १७ औँ नगरसभा विभिन्न ६ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
आज सुन्दरहरैंचा–४ गोदावरी रिसोर्टमा भएको नगरसभाले ती प्रस्ताव पारित गरेको हो । नगरप्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा भएको बैठकले सभाकी उपाध्यक्ष नगर उपप्रमुख अकली चौधरीले प्रस्ताव गरेका दुइवटा विधेयक, विधायन समितिका संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेले प्रस्तुत गरेका दुई विधेयक र नगर प्रमुख केदारप्रसाद गुरागाईँले प्रस्तुत गरेको एउटा प्रस्ताव पारित गरेको छ ।
उपप्रमुख चौधरीले नगरपालिकाले चालु आर्थिक वर्षमा गरेको कामको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । त्यसपछि उनले उहाँले सुन्दरहरैंचा नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२ र सुन्दरहरैंचा नगरपालिकाको विनियोजन ऐन, २०८२ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२ प्रस्तुत गरेक्वे थिइन् ।
त्यसपछि विधायन समितिका संयोजकले सुन्दरहरैंचा नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, सुन्दरहरैंचा नगरपालिकाको जलस्रोत उपयोग तथा व्यवस्थापन गर्न बनेको विधेयक २०८२ र सुन्दरहरैंचा नगरपालिकाको न्यायिक समितिको फैसला तथा मिलापत्र कार्यान्वयन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२ प्रस्तुत गरेका थिए ।
सभामा उठेका जिज्ञासाको जवाफ दिएका थिए । नगरसभामा प्रस्तुत भएका पाँच वटै विधेयक सर्वसम्मत पारित भएका छन् ।
छैटौँ तथा विशेष प्रस्तावको रुपमा नगर प्रमुख गुरागाईँले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको अभिलेखीकरण राख्ने विशेष प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव पनि सभाले सर्वसम्मत पारित गरेको छ ।







































































