पथरीमा विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम हुँदै

  • २९ फाल्गुन २०८२, शुक्रबार

मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरपालिकास्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम -२०८२ सुरु भएको छ।
आज शुक्रबार पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा आगामी ३ दिन (फागुन २९ गतेदेखि चैत -१ गते) सम्म त्रि-दिवसीय कार्यक्रम सुरु भएको हो।
पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित उक्त कार्यक्रममा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन, आधारभूत तथा माध्यमिक तहसम्मको लागि एकल गायन, नृत्य , चित्रकला, हस्तलेखन जस्ता विधाहरूमा प्रतियोगिताको आयोजना गरिएको छ भने आधारभूत तहका विद्यार्थीहरूको लागि हिज्जे प्रतियोगिता र माध्यमिक तहका विद्यार्थीहरूको विज्ञान प्रदर्शनी प्रतियोगिताको आयोजना गरिएको पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाेले नगरपालिकाले हरेक वर्ष यस्तो प्रतियोगितात्मक कार्यक्रमको आयोजना गर्दै नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने छात्र तथा छात्राहरूको प्रतिभा पहिचान गरी उनीहरूलाई थप हौसला प्रदान गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको बताउनुभयो।
पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको अध्यक्षता सोहि विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाले गर्नुभएको थियो। उक्त कार्यक्रमको पहिलो दिन आजै सुन्दर हस्तलेखान प्रतियोगिता र एकल गायन प्रतियोगिताहरू सम्पन्न भएका थिए।
वरिष्ठ लोक गायकद्वय महेश बुढाथोकी र बालकृष्ण कार्की, लोक दोहोरी गायिका गंगा गौतमले गायन प्रतियोगिताको निर्णयको भूमिका निर्वाह गर्नुभएको थियो ।