सुन्दरहरैँचामा शुरुभो सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड 

  • ६ माघ २०८२, सोमबार

माेरङकाे सुन्दरहरैँचामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन प्रतियोगिताको शनिबार जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले उद्घाटन गरेका छन्। सुन्दर हरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंको अध्यक्षतामा सुकुना माध्यमिक विद्यालय परिसरमा शनिबार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन भएको हो। पानसमा बत्ती बालेर र ड्रोनबाट अविर र फुल खसालेर कार्यक्रम उद्घाटन गरिएको थियो।

नौमती बाजाको धुन र नेपाल स्काउटको सलामीसहित तामझामका साथ सुकुना माध्यमिक विद्यालय परिसरमा शनिबार गरिएको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योन्जन, सुन्दरहरैचा नगरपालिकाकी नगरप्रमुख ली चौधरी सुन्दर हरैचाका प्रमुख प्रशासकीय अधिकृत गणेश राज कार्की, सुकना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारी, सुन्दर हरैचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा विद्यालयका सल्लाहकार नारायण कार्की, विभिन्न वडाका वडाध्यक्षहरू, सुरक्षा निकायका प्रमुखहरू, सुन्दरहरैचा नगरपालिकाको शिक्षा शाखाका कर्मचारीहरू लगायत विभिन्न विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी , प्रधानध्यापक तथा शिक्षक शिक्षिकाहरूको उल्लेख्य उपस्थिति थियो।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत शनिबार एथलेटिक्सतर्फ ६ वटा र उसुतर्फ मार्सल आर्टका सबै खेलहरू सम्पन्न भएका छन् । सुक्ना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले दिएको जानकारी अनुसार साजिलाल माविले चाड स्वर्ण चार रजत र दुई काश्य पदक प्राप्त गरेको छ भने विद्यालयले तीनवटा स्वर्ण, सातवटा रजत र तीनवटा काश्य पदक प्राप्त गरेको छ। त्यसैगरी पूर्वाञ्चल एकेडेमीले दुईवटा स्वर्ण तथा सिद्धार्थ सेकेन्डरी स्कुल, जनता मावि बुधबारे र शिक्षा निकेतन बोर्डिङ स्कुलले एक एक वटा स्वर्ण प्राप्त गरेका छन् ।

त्यसैगरी शनिबार पहिलो दिन भलिबल, कबड्डी आदिका खेलहरू पनि सञ्चालन भएका छन्। जस अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेको र ती खेलहरू आइतबार पनि जारी रहने आयोजकले जनाएका छन्।

सुकुना माध्यमिक विद्यालय आयोजनाको आयोजना र महेन्द्र माध्यमिक विद्यालयको सहआयोजना मा भएको प्रतियोगितामा सुन्दरहरैचा नगर क्षेत्रका सामुदायिक र संस्थागत गरी कुल २२ वटा विद्यालयहरु सहभागी छन् । कूल १ सय ४६ वटा स्वर्ण, त्यति नै रजत र कास्य पदक रहने प्रतियोगिताका लागि सुन्दरहरैचा नगरपालिकाले ६ लाख रुपैयाँ सहयोग गरेको छ ।