पठनपाठनमा मात्रै होइन, कला संस्कृति र गीत संगीत सिकाइमा पनि अब्बल बन्दै सुकुना

  • ५ पुष २०८२, शनिबार

पूर्वकै सबैभन्दा ठूलो सामुदायिक स्कुल सुकुना माध्यमिक विद्यालय पठनपाठनमा मात्रै होइन, कला संस्कृति र गीत संगीत सिकाइमा पनि अब्बल बन्दै गएको छ ।
विद्यालयले गरेका विभिन्न कार्यक्रम तथा क्रियापलापहरुबाट विद्यालयले राम्रो प्रगति गरेको पुष्ठी भएको हो । विद्यालयले हालै गरेको ५४ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सुकुना सिङ्गिङ आइडल र डान्सिङ आइडल मात्र होइन, यहाँ अध्ययनरत विद्यार्थीहरुले आफैं बाजागाजा बजाएर सुकुना साँझ नामक लाइभ कन्सर्ट समेत प्रस्तुत गरे ।
सुकुना माध्यमिक विद्यालयले सबै प्रकारका वाद्यबादन सामग्रीहरु खरिद गरी गत बर्षदेखि संगीत समेत पठनपाठन गराउँदै आएको छ । हाल विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ६० जनाभन्दा बढी विद्यार्थीहरुले कक्षा लिइरहेको संगीत शिक्षक भिम नेपालले जानकारी दिए ।
कक्षा १२ का विद्यार्थीहरुको अग्रसरतामा भएको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु गरेका थिए । सोही दिन सुकुना साँस्कृतिक समितिद्वारा आयोजित सांगीतिक साँझ समेत प्रस्तुत गरिएको थियो। जसमा विद्यार्थीहरुले नै लाइभ बाधबादन्सहित गीतहरू प्रस्तुत गरेका थिए । त्यही दिन सुकुना सिंगिङ आइडल र सुकुना डान्सिङ आइडलको सिनियर र जुनियर तर्फ टप फाइभमा पुगेका विद्यार्थीहरूले उपाधिका लागि गायन तथा नृत्यहरू प्रस्तुत गरेका थिए । सुकुना सिङ्गिङ आइडलमा सिनियरतर्फ समिक्षा निरौला, दिपेश राइ, किशोर दर्जी, बिवेक बिश्वकर्मा र नमन साह टप ५ मा छनौट भएका थिए । जसमध्ये समीक्षा निरौलाले उपाधि जितेकी छिन् ।सिङ्गिङ आइडलमा जुनियरतर्फ युनिक पौडेल, बिपिसा राउत, देवेसा गुरागाइँ, प्रिन्सा वन टप ५ मा पुगेकोमा युनिकले उपाधि जितेका छन् ।
त्यसैगरी सुकुना डान्सिङ आइडलमा सिनियर तर्फ सपना पौडेल, समिर थापा, सोनिका थापा,आशिका घिमिरे र रमिता थापा र जुनियर तर्फ सुहाना विश्वकर्मा, स्नेहा रिषिदेव, ऋतु राइ, फुङ्मा मिम्बु र बेवेसा मगर उत्कृष्ट ५ अर्थात टप ५ मा पुगेका थिए । जसमध्ये सुनियरतर्फ सपना र जुनियरतर्फ सुहानाले उपाधि जितेका छन् ।
शिक्षक तथा साँस्कृतिक समिति संयोजक ज्ञानेन्द्र सुवेदीका अनुसार सुकुना सिंगिङ आइडलको अडिसन राउन्डमा सिनियरतर्फ २३ जना र जुनियरतर्फ २८ जना सहभागी भएका थिए । त्यस्तै सुकुना डान्सिङ आइडलको आडिसन राउन्डमा सिनियरतर्फ ५० जना र जुनियरतर्फ ४० विद्यार्थीहरुले प्रतिश्पर्धा गरेका थिए ।
विद्यालयको ५४ औं बार्षिकोत्सवको अवसरमा बिभिन्न खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रम, पुरस्कार तथा छात्रवृत्ति वितरण, सुकुना जर्नल विमोचन, दाताहरूको नाम अङ्कित शिलालेख अनावरण, दाता सम्मान, सुकुना सांगीतिक साँझ, सिङ्गिङ एण्ड डान्सिङ आइडलको ग्रान्ड फिनाले र नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत लगायत विभिन्न कार्यक्रमहरू सम्पन्न भए ।
बार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न तहका विद्यार्थीहरूबीच तहगत र बिहानी तथा दिवा सत्रगत खेलकुद प्रतियोगिताहरू गरिएको थियो । विद्यालयको आफ्नै खेलमैदान, सुकुना बहुमुखी क्याम्पसको खेलमैदान र बुधबारे खेलमैदानमा भएका खेलकुद प्रतियोगिताहरूमा विद्यार्थीहरू बीच एथलेटिक्स, फुटबल, भलिबल, कबड्डी, क्रिकेट. उसु , तेक्वान्दो, टग अफ वार, भाले जुधाई, कुर्सी घुमाई, मेमोरी चकलेट, हिसाब दौड, बेलुन फुटाउने, चेस लगायत ८४ वटा खेलहरू खेलाइएको थियो ।
बार्षिकोत्सवको अबसरमा कक्षा ११ का नवअगन्तुक विद्यार्थीहरुको लागि स्वागत कार्यक्रम गरिएको थियो । सोही अबसरमा सेवानिबृत्त शिक्षक भिम दाहाललाई एक तोलाको औँठीसहित सम्मानपत्र दिएर बिदाइ गरिएको थियोे ।
वार्षिक उत्सवको अवसरमा तहगत परीक्षाहरूमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई पुरस्कार तथा विभिन्न छात्रवृत्ति अक्षय कोषहरूबाट जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालयको आन्तरिक स्रोतबाट खडा गरिएको ४५ लाख अक्षयकोषबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाइ नतिजाको आधारमा २५ प्रतिशतदेखि सत प्रतिशतसम्म छुट दिने गरिएको भएपनि बार्षिकोत्सवको अबसरमा दाताहरुबाट स्थापित २० वटा अक्षयकोषहरुबाट ४५ लाख रुपैयाँको ब्याजबाट विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए । विद्यालयमा विभिन्न दाताहरूले स्थापित गरेका २० वटा अक्षयकोष छन् । ती अक्षयकोषको ब्याजबाट ६२ जना विद्यार्थीहरुले जनही एक हजार ५ सयदेखि ७ हजार रुपैयाँसम्मको छात्रवृत्ति पाएका छन् ।
सुकुना माबिको ५४ वार्षिक उत्सवकै अवसरमा हरेक वर्ष झैं यस बर्षपनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा ५१ प्रिन्ट रगत सङ्कलन भएको विद्यालयले जनाएको छ ।