विभिन्न कार्यक्रमका साथ सम्पन्न भो सिंहदेवी सामुदायिक वनको बीसौँ साधारणसभा

  • ५ माघ २०८२, आईतवार

मोरङ केराबारी ९ मा अवस्थित सिंहदेवी  सामुदायिक वन उपभोक्ता समूहको बीसौँ वार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
ा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङंचिङ मगरको प्रमुख आतिथ्यता र समूहका अध्यक्ष भीम कार्कीको अध्यक्षतामा वन समूहको आफ्नै हलम शुक्रबार साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा केराबारी ९ का वडाध्यक्ष गोपाल याख्खा, सामुदायिक वन उपभोक्ता कोशी प्रदेशका सचिवालय सदस्य ऐन कुमारी दाहाल, महासङ्घ मोरङकी महासचिव बालकुमारी कट्टेल, केराबारी सब डिभिजन वन कार्यालयका प्रमुख किशोर बराल, बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि धमला, देवीझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोविन्द बस्नेत लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता थियो ।
साधारण सभामा वन समूहका अध्यक्ष भीम कार्कीले अध्यक्षको प्रतिवेदन, सचिव ज्ञानु बास्कोटाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष मनिषा सुवेदीले आर्थिक प्रगति प्रतिवेदन र लेखा संयोजक विनोद सुवेदीले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सामुदायिक वनले गत वर्ष झाडी सरसफाई, तारबार, फलफुलका बिरुवा सहित वृक्षारोपण, नदी नियन्त्रण तथा तटबन्ध, सिमसारको डिपिआर निर्माण, प्राणघातक रोग उपचार सहयोग, तथा विपन्न उपभोक्तालाई निःशुल्क स्वास्थ्य बीमा, विपन्न तथा अति विपन्न विद्यार्थीहरूलाई पोशाक वितरण जस्ता कार्यक्रमहरू सञ्चालन गरेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष ८१/८२ को अवधिमा ५२ लाख १७ हजार ७९४ रुपैयाँ आम्दानी गरेको सामुदायिक वनले गरिबी निवारण, रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ । सामुदायिक वनका अध्यक्ष भीम कार्कीले प्रस्तुत गरेको अध्यक्षको भावी प्रतिवेदनमा भू तथा जलाधार संरक्षण शीर्षकमा २५ लाख ९२ हजार ७४ रुपैयाँ विनियोजन गरिएको छ । जस अन्तर्गत सिमसार विस्तार, व्यवस्थापन तथा पर्यटन सम्बन्धी कार्यक्रमका लागि १८ लाख ३० हजार, जमिन सीमाङ्कन तथा वृक्षारोपणका लागि ४ लाख र खोला तथा नदी कटान नियन्त्रणका लागि ३ लाख ५० हजार खर्च गर्ने योजना गरिएको छ । त्यसैगरी आयमूलक काम, गरिबी न्यूनीकरण, उद्यम तथा महिला सशक्तिकरणका लागि १६ लाख २५ हजार ५१० विनियोजन गरिएको छ । जसअन्तर्गत सामुदायिक विद्यालयका विपन्न विद्यार्थी सहायता तथा बस सञ्चालनका लागि ७ लाख ३) हजार बजेट छुट्याइएको छ । सामुदायिक विकास सम्बन्धी कार्यक्रम अन्तर्गत खानेपानी तथा कुलो पैनी मर्मत तथा सिँचाइ, सामुदायिक विद्यालय सहयोग बाटो स्तरोन्नति तथा घाट मर्मत र व्यावसायिक पशुपालन बीमा राहत कार्यक्रम जस्ता शीर्षकमा ११ लाख ५६ हजार २८७ रुपैयाँ बजेट राखिएको छ । वन्यजन्तुबाट हुने क्षतिको रोकथाम तथा राहतका लागि २ लाख २१ हजार ५ सय ६३ बजेट व्यवस्था गरिएको छ ।
साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मेरिङचिङ मगरले सिंहदेवी सामुदायिक वनले केराबारीका सामुदायिक वनहरूमध्ये उत्कृष्ट काम गरिरहेको बताए ।
वन उपभोक्ताहरूको उल्लेख्य उपस्थितिमा भएको साधारण सभामा साधारण सभामा बुद्ध माध्यमिक विद्यालय र मोरङ आदर्श स्कुलका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । सो अबसरमा जेष्ठ नागरिक, एकल महिला, व्यावसायिक गाईपालक, कुखुरापालक लगायतका कृषकहरूलाई समेत सम्मानित गरिएको छ । साधारण सभामा सामुदायिक वनका पूर्व अध्यक्ष लालबहादुर कार्कीलाई सामुदायिक वनमा आजीवन योगदान गरेबापत सम्मानित गरिएको छ ।
साधारणसभामा जेष्ठ नागरिक अन्तर्गत वृद्धतर्फ रणबहादुर खड्का, देवीप्रसाद सुवेदी, रणबहादुर बिष्ट, फागुबहादुर खड्का र भक्तबहादुर थापा र वृद्धातर्फ गंगामाया लिम्ब, सावित्रा बराल र कृष्णमाया दर्जी लाई सम्मान गरिएको छ । त्यस्तै एकल महिलातर्फ पूर्णमाया तामाङ, खड्गमाया गुरुङ, भीमादेवी लामिछाने, धनकुमारी राई, भारता कटवाल, राधिका देवी खड्का र कृष्णकला सुवेदीलाई सम्मानित गरिएको छ । कार्यक्रमका प्रमूख अतिथि केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङंचिङ मगरले सबैलाइ सम्मान गरेका थिए ।
त्यसैगरी व्यावसायिक कुखुरापालन तर्फ रमेश कटवाल, ?द्रबहादुर खड्का, दिलमाया सुवेदी र राजेश सुवेदीलाई कदरपत्रद्वारा सम्मानित गरिएको छ । व्यवसायिक गाईपालनतर्फ डिल्लीप्रसाद बास्तोला र ध्रुव अधिकारी सम्मानित भएका छन् ।
कुन २५० दशमलव १८ हेक्टर क्षेत्रफल रहेको सिमादेवी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत ३९१ घरधुरी उपभोक्ता छन् ।