वेतना सिमसारमा बन्न थाल्यो फाउन्टेन पार्क
- ७ माघ २०८२, मंगलवार
पूर्वको प्रमुख पर्यटकीय गन्तव्य वेतना सिमसार क्षेत्रमा पानीको फोहोरा सहितको फाउन्टेन पार्क उद्घाटन भएको छ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र वेतना सिमसारको समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा वैदिक विधि अनुसार पूजाआजा गरी कोशी प्रदेशका सांसद ज्ञानेन्द्र सुवेदीले सोमबार पार्कको उद्घाटन गरेका छन् । प्रदेश सरकार बाट विनियोजित प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीको पहलमा सांसद विकास कोष र पर्यटन वन तथा वातावरण मन्त्रालयबाट २० लाख रुपैयाँको बजेट विनियोजन भए अनुसार पार्कको शिलान्यास गरिएको हो।
मोरङकै सुन्दरहरैचा स्थित उदय निर्माण कम्पनीले १७ लाख २४ हजार लागतमा फाउन्टेन पार्क निर्माणको ठेक्का पाएको छ। फागुन १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित सुरु गरिएको फाउनटेन १५ स्क्वायर फुट क्षेत्रफलमा निर्माण हुनेछ । गोलाकार फाउन्टेन तल्लो भागमा फराकिलो हुनेछ भने माथिल्लो भागमा साँघुरो हुनेछ। फोहराको बाहिरी भागमा टायल लगाइनेछ। अब चिया तीन तह रहने फाउन्टेनमा तीनवटै तहबाट पानीका फोहराहरू आकासिने छन्। लाइटिङ प्रविधि जडान गरिने भएकोले खासगरी रातको समयमा राजमार्गबाट समेत रङ्गीचङ्गी पानीका फोहराहरू देख्न सकिने बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराईले बताए । भट्टराईका अनुसार फाउन्टेनको सबैभन्दा अग्लो केन्द्र भागमा एउटा फोहोरा रहनेछ भने अर्को तहमा चारवटा फोहराहरू हुनेछन्। सबैभन्दा तल्लो बाहिरी भागमा छवटा फोहराहरू हुनेछन्। हन्टेनको तल्लो भागमा ५०० लिटरको ट्याङ्की रहनेछ। फाउन्टेन पार्क निर्माणले बेतना सिमसारको सौन्दर्य बढ्ने र स्थानीय पर्यटकको लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।







































































