Blog

  • गाई र भैंसी चर्ने जंगलमा परिणत भयो बाहुनीको पेट्रोल खानी

    गाई र भैंसी चर्ने जंगलमा परिणत भयो बाहुनीको पेट्रोल खानी

    मोरङ जिल्लाको बेलबारी नगरपालिका स्थित राधानगरमा रहेको पेट्रोलखानी गौचरनमा परिणत हुँदै जान थालेको छ ।

    यतिबेला सो ठाँऊ आसपासका स्थानीयका लागी गाई, भैसी चराउने गौचरन बनेको छ । सत्ताइस वर्षअघि सो ठाँउमा पेट्रोलखानी रहेको प्रमाण भेटिएपछि सुरु गरिएको उत्खननलाई निरन्तरता दिन केपी ओली नेतृत्वको सरकारले निर्देशन दिएसँगै सो ठाँउको अनुगमन गर्ने र चिनियाँ बिज्ञ सहितको टोली त्यस ठाँउमा अबलोकनका लागी पुगेर अनुसन्धान गर्नुका साथै सो ठाँउमा काम शुरु गर्ने बताएपनि ओली सरकार सँगै सो कुरा पनि सेलाएको छ ।

    मोरङको बाहुनीमा अवस्थित पेट्रोलखानी सञ्चालनमा ल्याउन सरकारसँग स्थानीय बासिन्दाले पटक पटक माग गर्दै आएका छन । विसं २०४५ मा प्रमाणित भएको पेट्रोलखानी अलपत्र छाडिनुमा सरकार दोषी रहेको आरोप स्थानीयवासीको छ । सत्ताइस बर्ष बित्दासमेत पेट्रोल निकाल्ने त कुरै छाडौँ ड्रिल गरेर खनिएको क्षेत्रलाई अलपत्र छाडिएको स्थानीयवासी सन्तोषी चौधरी बताउँछिन । पञ्चायतकालमै २०४२ सालमा यहाँ पेट्रोलको कच्चापदार्थ छ भन्ने तथ्य पत्ता लागेको स्थानीयवासीले जानकारी दिएका छन् । दुई बिगाहा १७ कट्ठा जमिनमा अवस्थित क्षेत्रफलका आधार इलाकामा पेट्रोलको कच्चापदार्थ रहेको पुष्टि भएपछि त्यहाँको जग्गा स्थानीयवासीबाट अधिग्रहण गरिएको थियो ।

    सो ठाँउमा लगाईएको तारबार समेत भत्किएको र सो क्षेत्र गौचरनमा परिणत भएको छ । स्थानीयवासीका अनुसार २०४२ सालमा यहाँ पेट्रोलको कच्चापदार्थ फेला परेपछि सर्वे थालिएको थियो । पेट्रोल अन्बेषण परियोजना नै सक्रिय भएर नेपाल, इटाली, नेदरल्यान्ड्स र स्वीट्जरल्यान्डका प्रतिनिधिको सहभागितामा खानी उत्खनन सुरु गरिएको थियो । पेट्रोल खानी उत्खनन किन बन्द गरियो आधिकारिक रुपमा कसैलाई जानकारी छैन । छिमेकी मुलुक भारतले लामो समय सम्म अघोषित नाकाबन्दी लगाएपछि उत्पन्न भएको पेट्रोलियम पदार्थको चरम संकटको बेला ओली सरकारले देशभरका खानीको निरिक्षण र अन्बेषण गरेपनि त्यसको नतिजा लगभग शुन्यकै अबस्थामा छ । – नरेन्द्र बस्नेत

  • मध्यरातमा महिलालाई अपहरणपछि बलात्कार गर्ने पहरी फन्दामा

    मध्यरातमा महिलालाई अपहरणपछि बलात्कार गर्ने पहरी फन्दामा

    बेलबारी, मोरङ  । भाद्र ५ गते राती बेलबारीस्थित सिनेमा हलबाट पतिसगै घरतिर फर्कदै गरेकी बिराटचोककी एक महिलालाइ पतिबाट खोसेर नाटकीय अपहरण गरी बलात्कार गर्ने मोरङको सुन्दरहरैचा ११ बेलेपुर निबासी २१ बर्षे रन्जित तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
    जोइपोइ घर फर्कने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको तेल सकिएर अभर परेपछि पेट्रोल खोज्न सहयोग गर्ने बाहनामा तामाङले पत्नीलाई लालभित्ती स्थित पेट्रोल पम्पमा कुर्न लगाएर पतिलाई खोर्साने चोकमा पुर्याइ छाडेको थियो । त्यहाँबाट भागेर लालभित्ती आएको तामाङले पतिले बोलाएको छ भन्दै झुक्याएर महिलालाइ अपहरण गरी बलात्कार गरेको थियो ।
    श्रीमतीलाई पेट्रोल पम्पमा एक्लै छाडेको र बाइकवाला पनि त्यतै गएकोले पेट्रोल सेट्रोल खोज्न छाडेर श्रीमान हतार हतार पैदल दौडेर लालभित्तिको पेट्रोल पम्पमा आएका थिए ।
    कुदेर पेट्रोल पम्प आइपुग्दा श्रीमती नभएको र केबल पेट्रोल सकिएको बाइक मात्रै थियो । पेट्रोल पम्प एरियामा भएका मानिस सुतिसकेका थिएनन् । त्यसैले पतिले उनीहरूलाई आफ्नी श्रीमतीको बारे सोधे । पम्पवाला साथी भाइहरुले बाइकमा आएको अर्को मानिसले श्रीमान भएको ठाउँमा पुर्याइ दिने भन्दै बाइकमा चढाएको र जबरजस्ती लालभित्तिबाट उत्तरतिर लगेको बताएका थिए ।
    अपहरित श्रीमतीको मोबाइल अफ भएकोले उनले साथीभाइ गुहारे । अरु आइपुगेपछि प्रहरीसगसंगै हतार हतार लालभित्तिदेखि उत्तरतिर लागे । तर देवीझोडा पुग्दा महिलालाई बलात्कार गरी त्यो पापी भागिसकेको थियो । हुन त एक मानिसले मध्यराततिर जबर्जस्ती महिलालाई खोलातिर लगेको देखेपछि स्थानीय कुमाल टोलका केही युवाले बाइकको पिछा गर्ने कोशिश गरेका थिए । निकैबेरपछि उनीहरू लोहोन्द्रा खोलामा पुग्दा उनीहरूले बाइकवाला र महिलालाइ भेटेका थिए पनि ।

    त्यो पापीले महिलालाई बलात्कार गरिसकेको रहेछ । महिला रोइ कराइ गरेकोले युवाले खोलामा आएका महिला र बाइकवाललाइ केरकार गरेका थिए । बाइकवालाले महिलालाई उछिन्दै आफुहरु ब्वाइ फ्रेण्ड र गर्ल फ्रेण्ड भएकोले घुम्न आएको बतायो, तर त्यस्तो लाग्दैनथ्यो । त्यसैले युवाहरूले पहिले नै बाइकको नम्बर नोट गरिसकेका थिए । बाइकको नम्बर थियो मे ५ प ६८५९,दुई सय २० सीसीको निलो बाइकको नम्बर लिएपछि युवाले त्यो बाइकवालालाइ नियन्त्रणमा लिने कोशिस पनि नगरेका होइनन् तर बाइकको चावी हरायो भन्दै उनीहरूलाई छ्क्याएर त्यही बाइकमा भागेको थियो ।
    त्यो बाइकमा चाबी नै रहेनछ , चावी बिना नै स्टार्ट हुने भएकोले त्यो उम्कन सफल भएको थियो । लालभित्तिबाट ती महिलाका श्रीमान अनि बेलबारी र केराबारीबाट प्रहरी टोली आइपुग्दा बलात्कारी भागिसकेको थियो । चारैतिर खोज्दा पनि त्यो मान्छे भेटिएको थिएन ।
    घटनापछि फरार निज तामाङलाई दमकबाट बिराटचोक आएको बेला भाद्रको अन्तिम हप्ता अर्थात केही दिन अघि पक्राउ गरि अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्चार्ज प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । तामाङ पक्राउ पर्नुअघि नै प्रहरीले निज बिरुद्ध जिल्ला अदालत मोरङमा बलात्कार सम्बन्धि मुद्दा दायर गरिसकेको छ । – अम्बिका भण्डारी

  • सत्रवर्षदेखि साउदी जेलमै छन् पर्वतका सन्तबहादुर

    सत्रवर्षदेखि साउदी जेलमै छन् पर्वतका सन्तबहादुर

    पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र पर्नुभएको छ । २०५७ साल फागुनमा साउदी पुग्नुभएका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आउनुभएको थियो । उहाँले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहनुभएको छ । स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो ।

    पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्नेक्रममा उनको मृत्यु भएको थियो । मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताउनुभयो । “कान्छो छोरा बल्ल १८ वर्ष पुग्दैछ,” पुनले भन्नुभयो, “उसको उमेर नपुग्दासम्म जेलमै बस्नुप¥यो । अब मेरो जीवन उसैको हातमा छ ।” कूटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उहाँको गुनासो छ ।

    “उतिबेलै मृत्युदण्ड हुन सक्थ्यो, अहिलेसम्म भाग्यले बाँचेको छु,” उहाँले भन्नुभयो । निम्नस्तरको परिवारले सरकारका उच्च अधिकारीसम्म गुहार माग्न नसक्दा न्याय पाउन नसकेको उहाँ बताउनुभहुन्छ । पुनका एक श्रीमती र तीन छोरा छन् । एक छोरा अपाङ्ग छन् । तीनै छोरालाई लिएर श्रीमती माया केही वर्षदेखि सदरमुकाममा ज्यालामजदुरी गर्दैै आउनुभएको छ । सरकारीस्तरबाट पहल भए श्रीमान् छुट्ने भन्दै अझै पनि भेट हुने आश नमेटिएको उहाँले बताउनुभयो ।

    सन्तबहादुर जेल परेको बारे २०५८ साल कात्तिक २ गते गृह मन्त्रालयले स्थानीय प्रशासनलाई पारिवारिक विवरण पठाउन आदेश दिएको थियो । उतिबेलाको प्रशासनले पुनको पारिवारिक र व्यक्तिगत अवस्थाबारे मन्त्रालयलाई प्रतिउत्तर पनि पठाएको थियो । तर सशस्त्र द्वन्द्वका कारण पुनको उद्धारमा सरकारले चासो नदिएको उहाँका आफन्त बताउँछन्

  • मध्यरातमा पतिबाट खोसेर अपहरण गरी महिलामाथि बलात्कार

    मध्यरातमा पतिबाट खोसेर अपहरण गरी महिलामाथि बलात्कार

    अम्बिका भण्डारी, मोरङ । भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारतिर लागे । दुवै जनाले आनन्द मान्दै फिल्म हेरे । राती करिब ११ बजेतिर सिनेमा हेरिसकेर दुवैजना घरतर्फ लागे । तर घर जाने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको स्टार्ट बन्द भयो र बाइक रोकियो । के भएछ भनेर हेर्दा थाहा भो तेल सकिएको रहेछ ।

    तर अचानक तेल रित्तिदा जोइपोइ छ्क्क परे । जे भएपनि घर पुग्न केहिकेहि उपाय लगाउनै पर्थ्यो । मध्यरात हुन लाग्दा नजिकै रहेको पेट्रोल पम्प पनि बन्द भइ सकेको थियो । त्यसैले खड्का पेट्रोल अगाडि आएर उनीहरू अक्क न बक्क परेर बसिरहे । केही बेरपछि एक जना मानिस बाइकमै पूर्व तिरबाट आयो । टोलाएका जोइपोइलाइ देखेर उसले बाइक रोक्यो र सोधिखोजी गर्यो । उनीहरूले पेट्रोल सकिएकोले अभर परेको बताए ।

    आगन्तुक मानिसले आफ्नो मोटरसाइकलमा पनि तेल थोरै भएकोले निकाल्न नमिल्ने बरु तेल पाइने ठाउँसम्म पुर्याइदिने प्रस्ताव राख्यो । त्यही कुरामा सहमति जनाउँदै बूढो चाहिँ बुढीलाइ त्यहीं छाडेर अर्काको बाइकमा बस्यो । बाइकवालाले खोर्साने चोकमा पुर्यायो र माथिल्लो साइडको एउटा दोकानतिर देखाउदै त्यहाँको मानिसलाई बोलाएर तेल लिन भन्यो । तेल सोध्न उतातिर जान नभ्याउदै बाइकवालाले बाइक स्टार्ट गर्यो र एक्लै पुर्व्तिर भाग्यो । उता श्रीमतीलाई पेट्रोल पम्पमा एक्लै छाडेको र बाइकवाला पनि त्यतै गएकोले पेट्रोल खोज्ने मानिसको मन ठग्रङै भयो । त्यसैले पेट्रोल(सेट्रोल खोज्न छाडेर उ हतार हतार पैदल दौडेर लालभित्तिको पेट्रोल पम्पतिर हानियो । कुदेर पेट्रोल पम्प आइपुग्दा श्रीमती छैन, केबल पेट्रोल सकिएको बाइक मात्रै । तर पेट्रोल पम्प एरियामा भएका मानिस सुतिसकेका थिएनन् । त्यसैले उनीहरूलाई आफ्नी श्रीमतीको बारे सोधे ।

    पम्पवाला साथी भाइहरुले बाइकमा आएको अर्को मानिसले श्रीमान भएको ठाउँमा पुर्याइ दिने भन्दै बाइकमा चढाएको र जबरजस्ती लालभित्तिबाट उत्तरतिर लगेको बताए । त्यसपछि पतिले साथीभाइहरुलाइ गुहार्न थाले फोन गरेर । उता अपहरित श्रीमतीको मोबाइल अफ थियो । बोलाइएका साथीभाइहरु आउन केहिबेर लाग्यो । अरु आइपुगेपछि हतार हतार लालभित्तिदेखि उत्तरतिर लागे । देवीझोडा पुगेपछि थाहा भो ती महिलालाई त्यतै ल्याएर बलात्कार गरी त्यो पापी भागिसकेको रहेछ । प्रत्यक्षदर्शीका अनुसार एक मानिसले मध्यराततिर जबर्जस्ती खोलातिर लगेको देखेपछि स्थानीय कुमाल टोलका तीन चार जना युवाले बाइकको पिछा गर्ने कोशिश गरेका थिए । निकैबेरपछि उनीहरू लोहोन्द्रा खोलामा पुग्दा उनीहरूले बाइकवाला र महिलालाइ भेटे पनि ।

    त्यो पापीले महिलालाई बलात्कार गरिसकेको रहेछ किनकि उनी रोइरहेकी थिइन् । महिला रोइ कराइ गर्दै आएकोले युवाले खोलामा आएका महिला र बाइकवाललाइ केरकार गरे । बाइकवालाले महिलालाई उछिन्दै आफुहरु ब्वाइ फ्रेण्ड र गर्ल फ्रेण्ड भएकोले घुम्न आएको बतायो, तर त्यस्तो लाग्दैनथ्यो । त्यसैले युवाहरूले पहिले केही हुलिया जनाउने तथ्य प्रमाण सुरक्षित गरिसकेका थिए । युवाले त्यो बाइकवालालाइ नियन्त्रणमा लिने कोशिश पनि नगरेका होइनन् तर बाइकको चावी हरायो भन्दै उनीहरूलाई छ्क्याएर त्यो बाइकमा भागिहाल्यो ।

    त्यो बाइकमा चाबी नै रहेनछ , चावी बिना नै स्टार्ट हुँदो रहरहेछ, त्यसैले त्यो भागिहाल्यो । केहिबेरमा त्यो मोबाइल स्विच अन गरेर सम्पर्क भएपछि लालभित्तिबाट आइपुगेका ती महिलाका श्रीमान अनि पब्लिक र स्रीमानले बोलाएर बेलबारी र केराबारीबाट प्रहरी टोली आइपुग्दा बलात्कारी भागिसकेको रहेछ । चारैतिर खोज्दा पनि त्यो मान्छे भेटिएन । इलाका प्रहरी कार्यालय बेलबारीले महिला बलात्कार भएको पुष्टि गरेको छ तर अपराधी पक्राउ परिनसकेको र अनुसन्धान भइरहेकोले थप बिवरण केही दिनपछि मात्र दिने बताएको छ ।

  • बेलबारी हत्याकाण्ड : ११ वर्ष भयो , पीडितको व्यथा उस्तै

    बेलबारी हत्याकाण्ड : ११ वर्ष भयो , पीडितको व्यथा उस्तै

    सुमन पुरी, सुनसरी । रातको नौ बजेको थियो । शोभा गुरुङ्गले ड्याम्म गरेको सुन्नुभयो । बाहिर कल्याङ्मल्याङ आवाज पनि आयो । आफूसँगै सुतेको दुई वर्षको नातीतिर हेर्न नभ्याउँदै फेरि आवाज आयो ड्याम्म । के पो भयो ? खुल्दुलीसँगै डर पनि बढ्यो ।
    कोही पनि बाहिर ननिस्क है भन्नलाई उहाँ ढोका खोलेर पल्लो कोठामा जानुभयो । जहाँ छोरी सपना र पाँच बर्षकी नातिनी सुतेका थिए । तर छोरी र नातिनी सुतेको कोठाको ढोका ह्वाङ्गै थियो । शोभाले छोरीछोरी भनेर चिच्याउनुभयो तर आवाज आएन । नातिनी निर्मला लुगा राख्ने आल्नामुनि पसेर लुगलुग काम्दै रुँदै थिइन् । उनकी आमा अर्थात शोभाकी छोरी निर्मला थिइनन् ।
    ११ वर्षपछि घटनाका बारेमा बेलिबिस्तार लाउँदै गर्दा ६२ वर्षिया शोभाको मन भक्कानियो । खाटा बसिसकेको घाउ नकोट्याउन आग्रह गरेपनि केहीबेरमा उहाँले घटना विवरण सुनाउनुभयो ।
    घटना २०६३ साल वैशाख १२ गते राति मोरङको बेलबारीको घटना हो यो । जहाँ शोभाको परिवार डेरा लिएर बस्थ्यो ।राति छिमेकी समेत मिलेर छोरीको खोजी भयो । डेरा बसेको घर नजिकै बाँसघारीमा २२ बर्षिया सपना (जो एक छोरा र एक छोरीकी आमा हुनुहुन्थ्यो) को शव भेटियो । कपडाहरु च्यातिएको र संवेदनशील अंगका कपडाहरु खोलिएका थिए । सुन्नेलाई पनि कहालीलाग्दो त्यो घटना भोगेकी शोभाका आँखा १२ वर्षपछि घटना सुनाउँदै गर्दापनि ओभाना रहन सकेनन् । सक्नुपनि कसरी ?
    वैशाख १३ गते बिहानै हल्ला फैलियो । सेनाले सपनालाई बलात्कारपछि हत्या ग¥यो । निरंकुश शाही शासन अन्त्य भएको भोलिपल्टैको यो घटना सुन्नासाथ मोरङको बेलबारी, बिराटचोक, खोर्साने, गोठगाउँ क्षेत्रका नागरिक आन्दोलनमा उत्रिए । दुई दिन अघिसम्म राज्यसत्ता फेर्ने आन्दोलनमा होमिएकाहरु भेला भए ।
    १९ दिने आन्दोलन गरेर सरकार ढलाएका नागरिकमा एकातिर जीतको उत्साह थियो भने अर्कातिर रगत सेलाएकै थिएन । थामिनसक्नुको भीडले इलाका प्रहरी कार्यालय घेराउ गर्यो । मानिसको आक्रोस अलि टाढैबाट हेरिरहनुभएको थियो गणेशप्रसाद दाहाल पनि ।
    जंगलमा गाईवस्तु छोडेर बेलबारी पुगेका दाहाल भिड भन्दा धेरै पर सिनेमा हल छेउमा बसेर हेर्न लाग्नु भयो । यहीबेला घुईंचो बढ्यो । कोलाहाल मच्चियो । उहाँपनि नजिकैको घरको आडतिर लम्कनु भो । चप्पल खुस्कियो, टाउकोमा लगाएको टोपी भुर्इंमा खस्यो । टिप्न खोज्दा खुट्टा चलेन । नजिकै रहेका मान्छे लडेको देख्नु भो ।
    त्यसपछि के भयो थाहा छैन । ६४ वर्षिय दाहालले भन्नुभयो –‘घटना भएको ३८ दिनमा होस खोल्दा घोपा क्याम्पमा थिएँ । एउटा खुट्टोमा १० किलोको वजन झुन्ड्याइको थियो । ओल्टो कोल्टो फेर्न सक्ने अवस्थामा थिइन ।’
    बेलबारी हत्याकाण्डमा सेनाको ज्यादतीका कारण २०६३ साल वैशाख १३ गते ७ जनाको ज्यान गयो । घटनामा बेलबारी ३ का प्रसाद गुरुङ, बेलबारी ३ की सुनिता ऋषीदेद, इन्द्रपुरका छत्रबहादुर परियार, इन्द्रपुरका फूर्वा शेर्पा, इन्द्रपुरका प्रभुनाथ भट्टराई, मृगौलीयाका टेकलाल चौधरीको ज्यान गयो । सेनाको गोली लागि घाइते भएका गोपाल चन्द्र गौतमले भने २०६६ सालमा पीडा सहन नसकेर आत्महत्या गर्नुभयो ।
    घटनामा घाइते भएका गोपालचन्द्र गौतमले ६६ सालमा पीडा सहन नसकेर आत्माहत्या गर्नु भयो । घटनामा परेर अंग भङ्ग भएका १७ जना अझै उपचारको पर्खाइमा छन् । घटनामा ७५ जना घाइते भएका थिए । तर सरकारले उनीहरुलाई आश्वासन बाहेक अरु केही दिएको छैन । गणेशप्रसाद दाहालले भन्नु भयो –‘उपचारका लागि २० लाख रुपैयाँ सकियो । दवाई गर्दा लागेको ऋण अहिले पनि तिरिसकेको छैन ।’
    सेनाको गोली लागेर पूर्ण अशक्त बन्नुभएका दाहालले अपाङ्गता भएकाहरुले पाउने सामाजिक सुरक्षा वापतको भत्ता समेत पाउनु भएको छैन ।
    शोभा गुरुङ्गको व्यथा यो भन्दा फरक छैन । छोरीको हत्या भएपछि २ वर्षको नाती र ५ वर्षकी नातीनी हुर्काउने जिम्मा उहाँकै थियो । अहिले छोरी निर्मला ११ कक्षामा र नाती दिपक नौ कक्षामा पढ्दैछन् । क्षतिपूर्तिबापत तीन लाख रुपैयाँ थाप्नुभएकी शोभा भन्नुहुन्छ– ‘यो देशमा मान्छेको ज्यान नौ लाखको रहेछ ।’ बाह्र बर्ष दुःख र पीरमा काट्न भएकी गुरुङले आश्वासन बाहेक अरु केही नपाएको बताउनु भयो । उहाँले पैसा नपाएपनि छोरीको हत्या गर्नेलाई कारावही गरेको सुन्न पाए मनमा शान्ति मिल्ने बताउनु भयो ।

    छैन न्यायको आशा
    भनिन्छ बाह्र वर्षमा खोलो पनि फर्कन्छ । यही आशमा बेलाबारी घटनाका पीडितहरुले न्याय फर्कने आशामा दिन बिताए । राज्यले सुन्छ भनेर हरेक प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए । दोषीलाई कारवाही र पीडितलाई न्यायको माग राख्दै तत्कालीन प्रधानमनत्री गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधबकुमार नेपाललाई ज्ञापन पत्र बुझाए । जिल्ला प्रशासन कार्यालय मोरङ्गमा धर्ना र जुलुस गरे ।
    घाइतेको उपचार नै पैसाको अभावमा रोकिएपछि सडक बन्द गरे । पीडितलाई न्याय दिनका लागि अनेक छानबिन समिति बन्यो । समितिका संयोजकहरु पीडितका घर घरमा पुगे । तर माग सुनिएन । बेलबारी हत्याकाण्ड दवाब संघर्ष समितका संयोजक हेमसागर ढकालले गर्नेजति सबैकुरा गरेर थाकेको बताउनु भयो ।

    यस्तो छ आश्वासन
    घटनाको छानबिन गर्न तत्कालिन सांसद परी थापाको संयोजकत्वमा गठित समितिले मृतकका परिवारलाई १० लाख, अङगभङग भई घाइते भएकालाई ६ लाख, घाइतेलाई ७५ हजार र सामान्य घाइतेलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेको थियो । सरकारले भने मृतक परिवारलाई जनही ३ लाख, अङ्गभङ्ग भई घाइते भएका १० जनालाई जनही ७५ हजार, घाइते २२ जनालाई जनही २५ हजार र सामान्य घाइतेलाई १० हजारका दरले क्षतिपूर्ति दिएको थियो ।

    को हुन् दोषी ?
    बेलबारी घटनाको दोषी भनेर छानबिन समितिले ११ जनाको नाम सार्वजनिक गरेको थियो । संकटकालमा संवेदनशिल क्षेत्रको सुरक्षाका लागि भनेर सरकारले नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त युनिफाइड कमाण्ड बनाएको थियो । कमाण्डको नेतृत्व क्याप्टेन प्रल्हाद थापाले गरेका थिए ।
    उनीसँगै बेलाबारी हत्याकाण्डमा दिलबहादुर शाही, डम्बरबहादुर कार्की, प्रदिपराज बानियाँ, वीरबहादुर महरा, निर्मलकुमार महरा, निर्मलकुमार पन्त, पदम होडा, देवसिंह धामी, बुद्धराज राई, मानलाल धामी र लोकेन्द्रराज थापालाई दोषी ठहर्याइएको थियो । उनीहरुलाई के कार्वाही भयो भनेर अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

  • हावाहुण्डरीले गर्दा सक्दै नसकी रोकियो कोशी हरैचा एक्स्पो

    शुक्रबार वेलुका एकाएक  आएको असिना सहितको बर्षा र हावाहुरीका कारण मोरङको कोशीहरैचास्थित बिराटचौकमा जारी कोशी हरैचा एक्स्पो बिचैमा रोकिएको छ ।

    गेट लगायत स्टलहरुमा क्षति भएपछि एक्स्पो रोकिएको हो ।
    शुक्रबार एक्स्पोमा दार्जिलिङबाट आएको मन्त्र ब्याण्डको कार्यक्रम पनि प्रभाबित भयो । राती साढे ८ बजेदेखि सुरु भएको कार्यक्रम १५ मिनेट चलेको थियो । हुरी सहितको बर्षाले एक्स्पोको मुख्य गेट ढलेको छ । आईतबार सम्पन्न हुने एक्स्पो मौसम परिबर्तनका कारण शुक्रबार बाट नै स्थगित भएको आयोजकले जनाएको छ ।

  • विद्यालयमा आगलागी हुँदा ९२ लाख बराबरको क्षत्ती

    विद्यालयमा आगलागी हुँदा ९२ लाख बराबरको क्षत्ती

    बेनी नगरपालीका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको भवनमा आगोलागी हुँदा ९२ लाख रुपैया बराबरको क्षत्ती भएको छ ।

    विद्युत सर्ट भएर बुधबार साँझ भएको आगोलागीबाट ८ कोठे दुई तले भवनका साथै भौतिक सामाग्रीहरु जलेर नष्ट हुँदा ९२ लाख रुपैया बराबरको क्षत्ती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कक्षा कोठा, कार्यालय, कम्प्युटर ल्याब र पुस्तकालय रहेको भवनमा आगोलागी भएको थियो । ८ वटा कम्प्युटर, एक थान फोटोकपी मेसीन, एक थान ल्यापटप, फर्नीचर, प्रशासनीक कागजात, पुस्तकालय, अध्यापन सामाग्री लगायतका जिन्सी सामाग्री जलेर नष्ट भएको हो ।
    साँझ सवा ५ बजेदेखि सुरु भएको आगोलागी स्थानीयबासी, नेपाली सेना र प्रहरीको टोलीले राती ८ बजे नियन्त्रणमा लिएको थियो । नजिकै रहेको अर्को चार कोठे भवनलाई आगोलागीबाट क्षत्ती हुनबाट बचाएका छन् ।

    कक्षा ८ सम्मको पठनपाठन हुने सो विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् । आगोलागीबाट भवन जलेपछि अस्थाई टहरा बनाएर पठनपाठन सञ्चालन गर्ने तयारी भएको छ । भवन परिसरको खेतमा त्रिपालको टहरा बनाएर पठनपाठनलाई निरन्तरता दिन पहल भएको विद्यालयका शिक्षक रामप्रसाद शर्माले बताउनुभयो ।

    स्थानीय बासिन्दा, बेनीबाट गएका अनेरास्ववीयु र नेपाल विद्यार्थी संघको टोलीले अस्थाई टहरा बनाउन श्रमदान गरेका छन् । अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेल र नेविसंघका नेता भरत रकालको टोलीले विद्यालयलाई त्रिपाल उपलब्ध गराउनुका साथै टहरा बनाउन श्रमदान गरेका थिए ।
    सैगरी अर्थुङ्गे स्थित नेपाली सेनाको श्रीबक्स गुल्मको टोलीले आगोलागीबाट ध्वस्त भएको भवन भत्काउन सहयोग गरेको छ । विद्यालयका प्रअ तिर्थ बानियाले भवन पुननिर्माणका लागि सरोकारवाला निकायमा अनुरोध र अपिल गर्नुभएको छ ।

  • बिराटचोकमा जारी कोशीहरैचा एक्स्पोमा ७ करोडभन्दा बढीको कारोबार

    बिराटचोकमा जारी कोशीहरैचा एक्स्पोमा ७ करोडभन्दा बढीको कारोबार

    विराटचोक / बिराटचोकमा जारी कोशी हरैचा एक्स्पो २०७३ मा ७ करोडभन्दा बढीको कारोबार कारोबार भएको छ ।

    एक्स्पोको सुरुवाती दिनमा त्यति उत्साह नदेखिए पनि केही दिन यता मेलामा आउने अवलोकन कर्ताको भिड बढेको छ । आज सम्म १ लाख बढीले मेलाको अवलोकन गरि सकेको आयोजक समितिका स्टल ब्यबस्थापक तथा कोशी हरैचा उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि कार्कीले जानकारी दिए ।

    मेलामा राखिएका हस्तकला, अटो मोबायल्स र नयाँ प्रबिधिको हाते ट्याक्टरमा अवलोकनकर्ताको बढी आकर्षण रहेको कार्कीले बताए । यस्तै मेलामा ३ वटा होन्डाइ, एउटा सुजुकी र एउटा महिन्द्राको गाडी बिक्री भएको र अटो टेम्पो २ वटा, यमहाको १० वटा, रोयल इन्फिल्ट ३ वटा र बजाज, हिरो होन्डा लगायत अन्य ८ वटा गरि २१ वटा मोटरसाइकल बिक्री पनि भएको कार्कीले बताए ।

    हेली सिटी र माउन्टेन फ्लाइटमा पनि आकर्षण छ ।’ कार्कीले भने त्यस्तै मेलामा राखिएका हिमाली चौरी गाई, नेपालमा पाइने ७ प्रकारका दुर्लभ चरा र अष्टीज हेर्नेको भिड छ । खाद्य सामाग्रीको बिक्री पनि बढेको उनले उल्लेख गरे ।

    अहिले सम्मको कारोबार हेर्दा अनुमान भन्दा बढी कारोबार भएको कार्कीले जानकारी दिए । महोत्सवमा १० देखि १२ करोडको लक्ष्य राखिएको छ भने मुनाफाको रकमले कोशी हरैचा नगर क्षेत्र भित्रका सलकपुर , बिराटचोक, खोर्साने र हरैचामा अत्याधुनिक सार्बजनिक सौचालय निर्माण गरिने कार्कीले बताए ।