मोरङ केराबारी ९ मा अवस्थित देवीझोडा सामुदायिक वन उपभोक्ता समूहले विभिन्न कार्यक्रमसहित सत्ताइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरको प्रमुख आतिथ्यता र देवीझोडा सामुदायिक वनका अध्यक्ष गोविन्द बहादुर बस्नेतको अध्यक्षतामा वनको आफ्नै सभाहलमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रतिवेदन प्रस्तुति, सांस्कृतिक कार्यक्रम, जेष्ठ नागरिक, जग्गादाता तथा उपभोक्ता सम्मान लगायतका कार्यक्रमहरू गरिएको थियो । कार्यक्रममा वनका अध्यक्ष गोविन्द बहादुर बस्नेतले अध्यक्ष तथा सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष आशा लिम्बुले आर्थिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक अभिषेक राइले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार यस सामुदायिक वनले आर्थिक वर्ष २०८२/०८३ को अवधिमा ४ हजार ९६ क्युफिट काठ संकलन गरेको थियो । जसमध्ये २ हजार ९७ क्युफिट काठ आन्तरिक बिक्री वितरण गरिएको थियो भने ८ सय ९७ क्युफिट काठ बाह्य लिलाम बिक्री गरिएको थियो । त्यस्तै जिल्ला वन पैदावार आपूर्ति समिति मार्फत २ सय १ क्युबिक फिट काठ बिक्री वितरण भएको थियो । काठ बिक्री वितरण सहित यस सामुदायिक वनले गतवर्ष ५६ लाख ७२ हजार ९९० रुपैयाँ ९२ पैसा आम्दानी गरेको छ ।
अघिल्लो वर्ष मोरङ जिल्लामै उत्कृष्ट सामुदायिक वनको रुपमा पुरस्कृत भएको यो सामुदायिक वन आर्थिक वर्ष २०८२/०८३ को अवधिमा नेपालका सामुदायिक वनहरूमध्ये सबैभन्दा उत्कृष्ट हुँदै गणेश मान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको थियो । वनले उपभोक्ता का परिवारमा मृत्यु हुँदा दाह संस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराउँदै आएको छ । वनले विपन्न तथा एकल उपभोक्ता वर्ग लक्षित गम्भीर प्रकृतिका स्वास्थ्य उपचारका लागि २०हजार रुपयाँ सहयोग गर्दै आएको छ । त्यस्तै वनले ड्राइभिङ तालिम सञ्चालन, विपन्न तथा गरिब विद्यार्थीका लागि छात्रवृत्ति, कुप घेराबारा मर्मत, बिरुवा घोडमेल, झाडी सरसफाई, वृक्षारोपण, उपभोक्ता लक्षित सामूहिक कृषि खेती, अदुवा तथा बेसार खेती, नदी नियन्त्रण लगायतका कामहरू गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै यस सामुदायिक वनले काठ चिरान गरी विपन्न तथा अन्य मौरीपालक कृषक उपभोक्ताहरुलाई घार वितरण गर्ने तयारी गरेको छ ।
साधारण सभालाई सम्बोधन गर्दै केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले देवीझोडा सामुदायिक वन केराबारीको मात्र नभई नेपालकै उत्कृष्ट सामुदायिक वनको रुपमा स्थापित भइसकेको र यस सामुदायिक वनले धेरै उदाहणीय कार्यहरू गरेको बताए । केराबारी गाउँपालिकाले पनि यस सामुदायिक वनसँग विभिन्न कार्यक्रमका लागि साझेदारी गर्दै आएको उनले बताए ।
उपभोक्ताहरूको भव्य उपस्थितिमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ कोशी प्रदेशकी महासचिव बालकुमारी कट्टेल, केराबारी गाउँपालिका वडा नम्बर ९ कि वडा सदस्य लिला देवी दास, हिमालय साकोसका अध्यक्ष शिव लामिछाने, मोरङ आदर्श स्कुलका सञ्चालक सन्तोष राई, सबडिभिजन वन कार्यालय केराबारीका कर्मचारीहरु कृष्णप्रसाद जैसी र गनेशकुमार राइ, कुसुमे साकोसका अध्यक्ष प्रेम कार्की, पूर्वज्योति क्लबका अध्यक्ष रेवत बहादुर कार्की लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता थियो । साधारण सभामा सामुदायिक वन उपभोक्ता महासङ्घ कोशी प्रदेशकी महासचिव बालकुमारी कट्टेल, हिमालय बचत तथा ऋण सहकारीका अध्यक्ष शिव लामिछाने, सबडिभिजन वन कार्यालय केराबारीका गनेशकुमार राइ लगायतले पनि मन्तव्य राखेका थिए ।
विगतका तीन वटा वार्षिक साधारण सभामा पाँच दर्शनभन्दा बढी जेष्ठ नागरिकहरूलाई सम्मान गरेको यस सामुदायिक वनले सत्ताइसौं वार्षिक साधारण सभामा पनि सातवटा टोलका १४ जना जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष सुमन मेरिङचिङ मगरले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । साधारण सभामा विद्यालय प्रथम भएका स्थानीय बुद्ध माध्यमिक विद्यालयका छात्रा नम्रता सुवेदी र छात्र हरि पोखरेललाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा बुद्ध माध्यमिक विद्यालय र शहिद स्मृति आधारभूत विद्यालयका विद्यार्थीहरूले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा पहिलो केराबारी आइडलकी विजेता सरला तामाङले पनि गीत प्रस्तुत गरेकी थिइन् ।
यस सामुदायिक वनले कार्यालय तथा हलसहितको व्यवस्थित भवन निर्माण गरिसकेको छ । १४७.७५ हेक्टर क्षेत्रफल रहेको यस सामुदायिक वनमा कुल ३ सय ५३ घरधुरी उपभोक्ता छन् । साधारण सभाले वनको १० वर्षीय कार्ययोजनासमेत पारित गरेको छ ।
